रास्वपाको पत्रकार सम्मेलन : उपनिर्वाचनमा तनहुँ १ बाट अर्थविद स्वर्णिम वाग्ले उम्मेदवार
काठमाडौं,चैत १९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि पार्टी सभापति रवि लामिछाने, डा. स्वर्णिम वाग्ले र रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ ।
रास्वपा पार्टी कार्यालयमा शनिवार आयोजित पत्रकार सम्मेलनमा चितवन–२ मा सभापति लामिछाने, तनहुँ–१ मा डा. वाग्ले र बारा–२ मा खरेललाई पार्टीका केन्द्रीय निर्वाचन आयोगका प्रमुख नारायणप्रसाद प्याकुरेलले उम्मेदवारको टिकट दिएका छन् ।
सो अवसरमा सभापति लामिछानेले तीनै जना उम्मेदवार आगामी उपनिर्वाचनमा निर्वाचित हुने विश्वास व्यक्त गरे । उनले भने, “निर्वाचित भएर हामी तीन भाइसँगै सांसदका रुपमा उभिनेछौं।” सभापति लामिछानेले मुलुकको सेवा गर्न तयार क्षमतावान व्यक्तित्वहरू आफ्नो पार्टीबाट निर्वाचित हुने दाबीसमेत गरे । उनले राष्ट्रिय स्वतन्त्र पार्टी यो देशको सबैभन्दा ठूलो र सबैभन्दा लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुने पनि बताए ।
रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेले नयाँ राजनीतिक युगको सुरुआत गर्दै देश विकासका लागि एकजुट भएर उम्मेदवारी दिएको बताए । यस्तै अर्का उम्मेदवार रमेश खरेलले देश विकासका लागि आफूहरू एकजुट भएको बताए ।–रासस

