महासंघको चुनावमा तात्यो माहोल: तीन प्यानल भिड्ने लगभग पक्का, ज्योत्सनाको अन्तरघात
काठमाडौं,चैत २१ । देशभरका उद्योगी ब्यापारीहरुको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको चुनावी माहोल बल्ल तात्न थालेको छ ।
अघिल्ला निर्वाचनहरुमा महिनौं अघिदेखि देशदौडाह र पार्टी भोज हुने भए पनि यस वर्ष उमेदवारी दिने मिति आउँदासम्म खास्सै चर्चा चुलिएको थिएन । यो साल सिंगो अर्थतन्त्र सुस्ततामा गएका कारण सामान्य मानिसहरुमात्रै होइन, अर्बपति ब्यापारीहरुको खल्ति पनि रित्तिएको छ । उनीहरुसँग पानीसरी बगाउने पैसा यो साल देखिएन । यसले अघिल्ला आधा दर्जन चुनावमा देखिएको नगद प्रवाह यो चुनावमा त्यति धेरै देखिएको छैन ।
बैंक तथा वित्तीय संस्थामा झण्डै दुई वर्षदेखि लगानीयोग्य पैसाको अभाव खड्किएको, बन्दब्यापार सुस्ताएको र बजारमा गएका कयौं वस्तु विक्री नभएर भुक्तानी अड्किएका कारण धेरै व्यवसायीहरु अहिले पनि नगद प्रवाहको अभाव खेपिरहेका छन् । यसको असर महासंघको चुनावमा पनि टड्कारो गरी परेको छ ।
पार्टी, भोज र प्रचारप्रसारमा पैसा बगाउन नसके पनि यो साल तीन वटा भिन्दाभिन्दै समूहले चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने लगभग पक्का भएको छ । सबैभन्दा पछि चुनावी तयारी अघि बढाएका रामचन्द्र सांघाई र उमेशलाल श्रेष्ठले प्यानलसहित उमेदवारी घोषणा गरिसकेका छन् । अर्का प्रत्यासी अञ्जन श्रेष्ठ भने अन्तिम समयमा अन्तरघातको सिकार भएपछि प्यानल तयार पार्ने चक्करमा लागेका छन् ।
यस्तो छ तयारी
महासंघको ५७ औं बार्षिक साधारण सभा तथा अधिवेशन आगामी चैत २८ र २९ गते काठमाडौंमा हुँदैछ । सोही अधिवेशनबाट महासंघको नयाँ नेतृत्व चयन हुने छ । विधान अनुसार अहिले निर्वाचित हुने बरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने छ । यसै व्यवस्था अन्तरगत वर्तमान बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल चैत अन्तिमबाट स्वतः महासंघको अध्यक्ष बन्दैछन् ।
महासंघको वरिष्ठ उपाध्यक्ष जित्नु भनेको भावी अध्यक्ष बन्नु हो । यही कारण महासंघमा बरिष्ठ उपाध्यक्षकै नेतृत्वमा चुनावी प्रतिस्पर्धा हुने गरेको छ । अघिल्ला चुनावमा जस्तै पूर्व अध्यक्षहरू पनि विभिन्न उम्मेदवारको सहयोगमा उत्रिएका छन् । उमेदवारहरु पनि आफ्नो पक्षमा माहोल तान्न हदसम्भव प्रयास गरिरहेका छन् । महाधिवेशनका लागि चैत १९ गतेदेखि नै मनोनयन दर्ता खुला भईसकेको छ । आगामी मंगलबार अर्थात् २१ चैतभित्र उम्मेदवार हुन चाहनेले मनोनयन दर्ता गरिसक्नु पर्ने छ ।
महासंघमा ५ पदाधिकारी सहित ७० जनाको कार्यसमिति चुनावबाट तय हुन्छ । यसका लागि लामो सूची तयार पार्नु पर्ने आवस्यकता छ । सोमबार महासंघको बरिष्ठ उपाध्यक्ष पदका लागि उमेशलाल श्रेष्ठले पनि उम्मेदवारी घोषणा गरेसँगै चुनावी रौनक झनै बढेको हो ।
अर्थतन्त्र उकास्ने उमेशको प्रतिबद्धता
सोमबार उम्मेदवारी घोषणासँगै उमेशलाल श्रेष्ठले खस्किँदो नेपाली अर्थतन्त्र उकास्न आफूले उम्मेदवारी दिएको बताए । उनले भने, ‘खस्किएको अर्थतन्त्रमा कप्तानीका लागि मेरो उम्मेदवारी हो । देश आर्थिक हिसावले धेरै पछि धकेलिएको अवस्था छ । यसको सुधारका लागि नै मैले उम्मेदवारी दिएको हुँ ।’
अहिले निजी क्षेत्रका कयौं संघ/संस्थाहरु सरोकारवाला निकायका पदाधिकारीलाई भेट्ने, ध्यानाकर्षण पत्र बुझाउने र फोटो खिच्नेमा सीमित रहेको आरोप लगाए । यस्ता कामबाट राष्ट्रिय अर्थतन्त्रले भोगिरहेको समस्या हल नहुने भन्दै उनले यस्ता समस्या समाधानका लागि आफू डटेर लाग्ने प्रतिवद्धता जनाए ।
अहिले सबैजसो व्यवसायीहरु उच्च ब्याजदरले निकै अप्ठेरोमा परेको बताउँदै उनले भने, ‘उत्पादन खस्किएको छ, सुधारका लागि खासै कदम चलेको छैन । यी र यावत समस्या समाधानका लागि मेरो टिम सक्षम छ ।’
श्रेष्ठको समुहबाट उद्योग बाणिज्य समूहको उपाध्यक्षमा दिनेश श्रेष्ठ मैदानमा उत्रँदै छन् । उनी अहिले पनि सोही समूहबाट निर्वाचित उपाध्यक्ष हुन् । वस्तुगत र एसोसियट तर्फका उपाध्यक्ष उमेदवारको घोषणा भने गर्न बाँकी छ । यद्यपि, वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल र एसोसियट उपाध्यक्षमा भरतराज आचार्य रहने बताएको छ ।
हेमराज अहिले वस्तुगततर्फका सदस्य हुन्, उनी महासंघको स्वास्थ्य तथा सिप विकास समितिको सभापति छन् । आचार्य भने एसोसियट सदस्य एवम् महासंघको उद्योग समितिका सभापति हुन् ।
घोषणापत्र सहित संघईको उमेदवारी
महासंघका वर्तमान एसोसियट उपाध्यक्ष रामचन्द्र संघाईले आइतबार नै एक औपचारिक कार्यक्रमार्फत् आफ्नो घोषणापत्र सहित उमेदवारी घोषणा गरेका छन् । बरिष्ठ उपाध्यक्षमा पहिलो मनोनयन दर्ता गराउने उम्मेदवार उनै हुन् ।
संघईको समूहमा उपाध्यक्ष पदका लागि उद्योग बाणिज्य समूहबाट सुरकृष्ण वैद्य, वस्तुगत तर्फ सुकुन्तलाल हिराचन र एशोसिएट तर्फ ज्योत्स्ना श्रेष्ठ (सुब्बा)ले उम्मेदवारी दिने भएका छन् । वैद्य अहिले महासंघको स्थानीय आर्थिक विकास समितिका सभापति छन् भने हिराचन अहिले महासंघको कोषाध्यक्ष छन् ।
ज्योत्सना भने अहिले महासंघ केन्द्रिय सदस्य एवम् पर्यटन तथा हवाई यातायात समितिकी सभापति हुन् । उनी सुरुमा अञ्जन श्रेष्ठको प्यानलबाट उमेदवारी दिन तयारी गरे पनि अन्तिम समयमा अन्तरघात गरेर संघाईको टोलिमा गएको आरोप लागेको छ । सुरुदेखि नै आक्रामक प्रचारमा लागेका अञ्जनलाई ठूलै ‘सेटब्याक’ हुनसक्ने आँकलन व्यवसायी बृत्तमा भएको छ ।
महासंघको वर्तमान अध्यक्ष शेखर गोल्छा र बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको समेत समर्थन जुटाएको भनिएका संघाईले आफू नेतृत्वमा पुगे केन्द्रीय कार्यालय व्यवस्थापनमा भइरहेका सुधारका प्रयासलाई निरन्तरता दिने भनेका छन् ।
महासंघलाई थप प्रविधिमैत्री बनाउने, उद्योगी व्यवसायीको कामलाई सघाउन ‘सहयोगी समूह’ को भूमिकालाई प्रभावकारी बनाउने, उद्योगी व्यवसायीको गुनासो र समस्या बुझ्न तथा समाधानको पहलका लागि स्थापना भएको हेल्प डेस्क र हट लाइनलाई थप व्यवस्थित बनाउने संघाईको घोषणापत्रमा उल्लेख छ ।
प्रदेश च्याप्टरहरूको भूमिका थप बढाउने, प्रदेश सचिवालयहरूलाई सुदृढ र सक्षम बनाउने पनि संघाईले भनेका छन् । केन्द्र, प्रदेश, जिल्ला तथा नगरबीच समन्वय र तालमेल मिलाउने, उद्योग वाणिज्य संघ र वस्तुगत संघहरूको संस्थागत क्षमता विकास गर्ने विषय पनि घोषणा पत्रमा समेटिएको छ ।
उद्योग वाणिज्य संघ र वस्तुगत संघमार्फत विभिन्न तालिम र परियोजनाहरू सञ्चालन गर्ने र महासंघका देशैभरका सबै एकाइहरू आफ्नै भवनमा सञ्चालन गर्ने वातावरण तयार गर्ने भनेर संघाईले आफ्नो घोषणापत्रमा लेखेका छन् । लगानीमैत्री बातावरण बनाउन कानून तथा नीति कार्यान्वयन तथा सुधार एवं परिवर्तनका लागि पहल तथा पैरवी गर्ने पनि उनले बताएका छन् ।
प्यानल बनाउँदै अञ्जन
ज्योत्सनाले उनीहरुकै शब्दमा ‘अन्तरघात’ गरेपछि निकै अघिदेखि चुनावी रौनकमा होमिएका अञ्जन श्रेष्ठ भने पदाधिकारीको उमेदवार खोजीमा भौंतारिएका छन् । यही कारण उनी प्यानल घोषणा गर्न र चुनावी प्रतिस्पर्धामा होमिन ढिलाई गरिरहेका छन् ।
अन्जानले पनि तत्काल प्यानल घोषणा गर्ने तयारीमा रहेको बताएका छन् । उनको समूहबाट वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान र उद्योग बाणिज्य उपाध्यक्षमा अरुणराज सुमार्गी उम्मेदवार बन्ने लगभग पक्का भएको छ । तर, एसोसिएट उपाध्यक्षमा भने प्रवलजङ्ग पाण्डेलाई भित्र्याउने तयारी अघि बढेको छ ।
संघाई टिमकी एसोसियट उपाध्यक्षकी उम्मेदवार श्रेष्ठले यसअघि अन्जानकै टिमबाट उम्मेदवारी दिने तयारी थियो । तर, अन्तिम समयमा आएर उनले प्यानल परिवर्तन गरेकी हुन् । त्यसपछि अन्जनले आफ्नो टीममा प्रवलजंग पाण्डेलाई ल्याउने भएका हुन् ।
मनिष अहिले निर्यात प्रवद्र्धन समितिका सभापति छन् भने अरुण कृषि उद्यम केन्द्रका सभापति छन् । कृषि उद्यम केन्द्रलाई महासंघका विषयगत समितिमध्ये सबैभन्दा शक्तिशाली र साधनस्रोत सम्पन्न मानिन्छ । प्रवलभने अहिले केन्द्रिय सदस्यको हैसियतमा मात्रै छन् ।
महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डेको जेठा छोरा भए पनि यस पालिको चुनावमा प्रवललाई आफ्नै बाबु र महासंघ राजनीतिमा राम्रै पकड भएका दुई सहोदर भाइको समेत साथ नरहन सक्छ । तर उनी महासंघकको उपल्लो नेतृत्वमा पुगेकी एकमात्र महिला भवानी राणाकी प्रियपात्र हुन् ।
कम्पनी दर्ता र सञ्चालनमा आइपर्ने समस्या हटाउने तथा एकल विन्दु सेवा केन्द्रलाई जनशक्ति, साधनस्रोत र अधिकार सम्पन्न तथा उच्च प्रविधिमा आधारित सेवामैत्री बनाउन सरकारको ध्यानाकर्षण गराउने उनको, उद्योग तथा कलकारखानामा २४ सै घण्टा विद्युत् आपूर्तिको सुनिश्चितता गने, उद्योगी व्यवसायीले भोग्नुपरिरहेका प्रशासनिक ढिलासुस्ती हटाउने घोषणा पत्रमा उल्लेख छ ।
त्यसैगरि हाल मुलुकको अर्थतन्त्र चलायमान बन्न नसकेको र सुस्ताएको अवस्था छ । अर्थतन्त्रको समग्र सूचकहरू पनि राम्रो देखिँदैन । लगानीका लागि पूँजीको अभाव छ । व्यवसायीमा उत्साह देखिँदैन । यसलाई सामान्य अवस्थामा लैजान आफुले पहल गर्ने संघाईको घोषणापत्रमा उल्लेख छ ।

