सबैभन्दा बढी निर्यात हुने वस्तुकै निर्यात घट्दै, खाने तेलको निकासीमा साढे ५६ अर्बको कमी



काठमाडौ,चैत २१ । खाने तेल (भटमास, पाम र सूर्यमुखी) को निर्यातमा भारी गिरावट आएको छ । व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्र (टीईपीसी)बाट प्राप्त चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत आवको फागुन मसान्तसम्ममा ८० अर्ब ३५ करोड ४६ लाख ३६ हजार रुपैयाँ बराबरको भटमास, पास र सूर्यमुखी तेल निर्यात भएको थियो । तर, चालु आवको समिक्षा महिनामा भने ७०.३८ प्रतिशत अर्थात ५६ अर्ब ५५ करोड २३ लाख ९० हजार रुपैयाँले कम हो । सो अवधिमा कुल २३ अर्ब ८० करोड २२ लाख ४६ हजार रुपैयाँ बराबरको तेल निर्यात भएको विभागले जनाएको छ ।

नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा पाम तेल र सोयाविन तेल पहिलो र दोस्रो नम्बर छ । सूर्यमुखी तेल भने २८औं स्थानमा छ । चालु आवको आठ महिनामा पाप तेल १५ अर्ब १८ करोड १८ लाख ९६ हजार रुपैयाँको मात्रै निर्यात भएको छ । जुन, गत आवको सोही अवधिको तुलनामा ५७ प्रतिशतले कमी हो । गत वर्षको फागुन मसान्तसम्ममा ३५ अर्ब ३३ करोड ८० लाख ७६ हजार रुपैयाँ बराबरको पाम तेल निर्यात भएको थियो ।

सो अवधिमा सोयाविन (भटमास) तेलको निर्यात पनि ७९.८ प्रतिशतले घटेको छ । चालु आवको आठ महिनामा ८ अर्ब ३७ करोड २२ लाख ५७ हजार रुपैयाँ बराबरको सोयाविन तेल निर्यात भएको छ । तर, गत आवको समिक्षा अवधिमा भने कुल ४१ अर्ब ४० करोड १७ लाख ८१ हजार रुपैयाँ बराबरको सोयाविन तेल निर्यात भएको थियो ।

यस्तै, चालु आवको आठ महिनामा सूर्यमुखी तेलको निर्यातमा पनि ९३.१ प्रतिशतको गिरावट देखिएको छ । गत आवको फागुन मसान्तसम्ममा कुल ३ अर्ब ६१ करोड ४७ लाख ७९ हजार रुपैयाँ बराबरको सूर्यमुखी तेल निर्यात भएको थियो । तर, चालु आवको समिक्षा अवधिमा भने घटेर २ अर्ब ४८ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ ।

नेपाली व्यवसायीहरुले अर्जेन्टिना, ब्राजिल, पाराग्वे, इन्डोनेशिया तथा युक्रेनबाट कच्चा भटमास आयात गरि प्रशोधन गरी भारत निर्यात गर्दै आएका छन् । यसैगरि मलेसिया, इन्डोनेशिया लगायतका मुलुकबाट कच्चा पाम तेल ल्याएर प्रशोधन गरी भारततर्फ निर्यात गर्दै आएका छन् । कच्चा पदार्थ ल्याएर प्रशोधन गरी बिक्री गर्दा ३० प्रतिशतसम्म भ्यालु एड गरिदैं आइएको छ ।

भारतमा पहिला यी दुवै वस्तु अन्य देशमा आयात गर्दा २५ प्रतिशतसम्म भन्सार तिर्नु पर्दथ्यो । तर, नेपालबाट आयात गर्दा भने भन्सार लाग्दैन । साफ्टाको सुविधा प्रयोग गरेर भारतले नेपालबाट शुन्य भन्सारमा पाम तेल र भटमास तेल आयात गर्दै आएको छ । फलस्वरुप अन्य देशभन्दा नेपालबाट आयात गर्दा सस्तो पर्दथ्यो । सोही कारण नेपालबाट यी दुई वस्तुको निर्यात बढी हुने गरेको छ । तर, पछिल्लो पटक भारतले अन्य देशबाट पाम र भटमास तेलको आयात गर्दा लाग्ने भन्सार दर ५ प्रतिशतमा झारेको छ । त्यो अवस्थामा नेपालबाट भन्दा अन्य देशबाट नै पाम तेल र सोयाविन तेल आयात गर्दा भारतलाई सस्तो पर्दछ । सोही कारण पछिल्लो समय पाम तेल र भटमास तेलको निर्यात घटेको व्यवसायीहरु बताउँछन् । तेस्रो मुलुकबाट कच्चा प्रदार्थ ल्याएर प्रशोधन गरि भारतमा बिक्री गर्दा लागत बढी हुन्छ र मुल्य पनि स्वत बढी हुन्छ । यी यस्ता कारणले पछिल्लो समय यसको निर्यात घट्न थालेको उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्