महासङ्घको महासङ्ग्राम: उद्योगीलाई भन्दा नेतालाई भ्याइ–नभ्याई



काठमाडौं,चैत २२ । उद्योगी व्यवसायीको सबैभन्दा ठुलो छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वका लागि उद्योगी व्यवसायीभन्दा राजनीतिक नेतृत्वलाई बढी चुनाव लागेको पाइएको छ ।

आफ्ना टोकरीका उम्मेदवार जिताउन दलका नेताहरू मरिहत्ते गरेर लागेका छन् । महासङ्घ स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीको नैतिक समर्थन उमेश श्रेष्ठले पाएका छन् । श्रेष्ठको प्यानलबाट भरत आचार्य उपाध्यक्षको उम्मेदवार छन् । आचार्य मात्रै होइन, सोही समूहबाट केन्द्रीय सदस्यका उम्मेदवार बनेका इन्द्र जिसी पनि प्रचण्डको समर्थनप्राप्त व्यापारी हुन् ।

केही वर्षयता प्रचण्डका विश्वासपात्रको रूपमा उदाएका चन्द्र ढकाल चैत अन्तिमबाट महासङ्घको अध्यक्ष बन्दै छन् । ढकालले आफ्नै ज्वाइँ मनोज पौडेलदेखि व्यावसायिक साझेदार अम्बिका पौडेलसम्मलाई उमेशको टोलीबाट चुनावी मैदानमा उतारेका छन् ।

एमालेले स्पष्ट नखुलाए पनि उसको दलगत समर्थन उमेशलाई हुने देखिएको छ । उमेश नेपालमा कम्युनिस्ट राजनीतिका संस्थापक पुष्पलालको छोरा भएकाले पनि उनीसँग एमालेको पुस्तैनी राजनीतिक सम्बन्ध छ । त्यसमाथि बाँकी दुई वरिष्ठ उपाध्यक्षका उमेदवारहरु काँग्रेस निकट भएका कारण पनि एमालेले उमेशलाई समर्थन गर्ने अवस्था आएको छ ।

कांग्रेसमा नेतापिच्छेका उम्मेदवार

समाचार श्रोतहरूले दिएको जानकारी अनुसार काँग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले रामचन्द्र संघईलाई महासङ्घको नेतृत्वमा पु¥याउने वचन दिएकी छिन् । यसका लागि राणाले संघईसँग मोटो रकम लिइसकेको हल्ला व्यवसायीमाझ व्याप्त भएको छ । तर यसको कुनै आधिकारी प्रमाण छैन । संघईलाई आरजु राणासम्म पु¥याउनमा भने पूर्व सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले भूमिका खेलेको भनिएको छ ।

बस्नेत पुनः मन्त्री बन्ने लाइनमा छन् । ‘बूढानीलकण्ठ’ले प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा उनलाई मन्त्री बनाउन अनिच्छा गरेपछि बस्नेत केही समययता आरजुको सेवा गर्न हतारिएका थिए । यही कारण अन्तिम समयसम्म पनि उम्मेदवारी घोषणा नगरेका संघईले एकाएक सुरुमै उम्मेदवारी दर्ता गराएका थिए । यसअघि अञ्जन श्रेष्ठ नेतृत्वको प्यानलबाट उपाध्यक्ष उठ्ने तयारी गरिरहेकी ज्योत्सना श्रेष्ठ (सुब्बा)लाई संघईको समूहमा पु¥याउन आरजु राणाको हात रहेको भनेर पनि व्यवसायीमाझ चर्चा छ ।

कांग्रेभित्र सभापतिसँग संसदीय दलको नेतामा चुनाव लडेका महामन्त्री गगन थापाले भने अञ्जन श्रेष्ठलाई आफ्नो उम्मेदवार बनाएका छन् । गगनको पृष्ठपोषण पाएपछि अञ्जन ६ महिना अघिदेखि नै वरिष्ठ उपाध्यक्षका लागि होमिएका थिए । तर अहिलेसम्म आउँदा मैदानमा सबैभन्दा कमजोर खेलाडीको रूपमा उनै देखिएका छन् । अरू दुई उम्मेदवारले भव्य पार्टी गरेर उम्मेदवारी घोषणा गरेपछि अञ्जनले अन्तिममा एक सामान्य पत्रकार सम्मेलन गरेर उम्मेदवारी दिने बताएका छन् ।

प्रचण्डका पुराना मित्र अजयराज सुमार्गीका छोरा अरुणराज सुमार्गी अञ्जनको प्यानलबाट उपाध्यक्ष उम्मेदवार । तर प्रचण्डले लाजिम्पाटमा रहेको सुमार्गीको घरबाट डेरा सरेसँगै अहिले उनीहरूको सम्बन्ध पहिलेजस्तो घनिष्ठ नभएको पनि कतिपयले बताउने गरेका छन् । स्रोतका अनुसार प्रचण्डले सुमार्गीलाई सहयोग गरे पनि अञ्जनलाई नगर्न सक्छन् ।

काँग्रेस नेताहरूको समर्थनको शृङ्खलामा देखिएको अर्को ट्वीस्ट पनि छ । त्यो के भने, कतिपय नेताले समर्थन गरेका उमेदवारहरु काङ्ग्रेसकै नेतृत्व पङ्क्तिका दुई नेताको समर्थनमा होइन, कम्युनिस्ट समर्थनमा उपाध्यक्षको उम्मेदवार बनेका उमेशलालको टोलीमा छन् ।

काङ्ग्रेसकै अर्का महामन्त्री विश्वप्रकाश शर्माले हेमराज ढकाललाई जिताउन प्रयास गरिरहेका छन् । उनी महासङ्घको पूर्व अध्यक्ष चण्डीराज ढकालको भाइ भएकाले पनि उनको संभावना बलियो देखिएको छ । ढकाल उमेशको प्यानलबाट उपाध्यक्ष उम्मेदवार हुन् ।

त्यस्तै, पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानलाई काँग्रेसका अर्का नेता प्रकाशमान सिंहको समर्थन छ । गत मङ्सिरमा भएको सङ्घीय निर्वाचनमा काँग्रेसले काठमाडौं क्षेत्र नम्बर १ बाट समानुपातिकतर्फ प्रधानलाई उम्मेदवार उभ्याएको थियो । भलै उनी सांसद बन्न सकेनन्, तर त्यही गुन तिर्न प्रकाशमानले अहिले ठुलै बल लगाइरहेको व्यवसायीहरू बताउँछन् ।

महासङ्घमा सबैभन्दा ठुलो मत भार भएको जिल्ला–नगर उद्योग वाणिज्य सङ्घमा काँग्रेसको बाहुल्यता छ । उक्त समूहको कुल मतमध्ये ६५ प्रतिशतभन्दा धेरै मत काँग्रेस निकट रहेको र त्यसमध्ये कम्तीमा १५ प्रतिशत भोटमा दलको अप्रत्यक्ष ‘ह्विप’ नै लाग्ने बताइएको छ । यस्ता भोट कसले खोस्ने भन्नेमा अहिले हानथाप परेको छ ।

प्रतिक्रिया दिनुहोस्