एक हप्तामै १७ लाख कित्ता संस्थापक शेयर विक्रीमा : मन्दीले च्यापेपछि विक्रीको बाढी



काठमाडौं,चैत २३ । पछिल्लो समय दिनहुँजसो बैंक तथा वित्तीय संस्थाले संस्थापक शेयर विक्रीमा/लिलामीमा भनेर सूचना जारी गरिरहेका छन् ।

संस्थापक शेयरधनीहरुले लाखौं कित्तासम्म शेयर विक्रीमा राख्दा एक हप्ताको अवधिमा मात्रै साढे १७ लाख कित्ताभन्दा बढी संस्थापक शेयर लिलामीमा आएका छन् । एक महीनाकै तथ्याङ्क जोड्ने हो भने यो संख्या सजिलै करोडमा पुग्ने निश्चित छ । तर, बैंक तथा वित्तीय संस्थाले विक्रीमा राखेका संस्थापक शेयर समयमै विक्री हुन भने सकेका छैनन् ।

नेपाल राष्ट्र बैंकको नियम अनुसार संस्थापक शेयरधनीले पहिला विद्यमान संस्थापकलाई शेयर विक्री खुला गर्नुपर्ने हुन्छ । कम्पनीहरुले ३५ दिने सूचना जारी गरेर संस्थापकलाई शेयर किन्न आग्रह गर्छन् । तर, उक्त समयमा संस्थापक शेयर विक्री नभएमा केही समयपछि सर्वसाधारण अन्य लगानीकर्ताले समेत शेयर खरीद गर्न मिल्ने गरी फेरि विक्री खुला गर्छन्  ।

पछिल्लो समय आर्थिक गतिविधि सुस्त हुँदा बैंकहरूको खराब कर्जा दिनप्रतिदिन बढिरहेको छ । यसले बैंकले दिने प्रतिफलमा समेत असर गर्ने निश्चित छ । बैंकहरूको चुक्ता पूँजी बढेपनि त्यसअनुसारको ब्यापार नबढेको र खराब कर्जाका कारण प्रतिफलसमेत घट्ने भएकाले संस्थापक शेयरधनीहरुले शेयर विक्री गरिरहेको धितोपत्र विज्ञ ज्योति दाहाल बताउँछन् ।

कतिपय लगानीकर्तालाई पैसाको खाँचो परिरहेको र कतिपयले यो क्षेत्रबाट लगानी निकालेर अन्य क्षेत्रमा सिफ्ट हुन खोजेकाले पनि संस्थापक शेयरको विक्री ह्वात्तै बढेको दाहालको बुझाइ छ । 

पैसाको अभाव र घरयासी तथा व्यवसायिक व्यवहार मिलाउन समेत प्रमोटर शेयरको आपूर्ति बढेको एक ब्रोकरले बताए । चैत्र मसान्तमा,ऋण सेटलमेन्टको लागि पनि प्रमोटर शेयरको विक्री अत्याधिक बढेको हुन सक्ने उनको तर्क छ । 

अर्थतन्त्रमा मन्दी, चर्को ब्याजदर लगायतका कारण संस्थापकहरुले रकम जुटाउनका लागि पनि आफूसँग भएको संस्थापक शेयर विक्री गर्नुपर्ने बाध्यता आइपरेको हुन सक्ने जानकारहरु बताउँछन् ।

बुधवार मात्रै कुमारी बैंकको ८ हजार ७१२ कित्ता र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १३ हजार १९९ कित्ता संस्थापक शेयर विक्री खुला गरेका छन् । घट्दो शेयर बजार र संस्थापक शेयरले पाउने रिटर्नमा कमि आउनाले पनि संस्थापक शेयर विक्री गर्नेको सख्या बढेको पुराना लगानीकर्ता डम्बरु बल्लभ घिमिरे बताउँछन् ।

पछिल्लो समय आर्थिक मन्दी, राजनितीक अस्थिरता लगायतका कारण तत्तकाल बजार बढ्ने छाँटकाँट देखिएको छैन । सोही कारण कतिपय संस्थापक शेयरधनीले ऋण र ब्याज तिर्न पनि संस्थापक शेयर विक्री गरिरहेका हुन सक्ने उनको भनाइ छ ।

पछिल्लो समय कम्पनीहरुको निष्क्रिय कर्जा बढ्दो छ । यस कारण पनि संस्थापक शेयरधनीहरुले रिटर्न कम हुने अनुमान गरेर शेयर विक्री गर्दै लगानी अन्तै सारेको घिमिरेको भनाइ छ । 

पछिल्लो एक सातामा ६ कम्पनीले संस्थापक शेयर विक्रीमा ल्याएका छन् । ६ कम्पनीमध्ये सबैभन्दा बढी प्रभु बैंकको १५ जना संस्थापक शेयरधनीले कुल १४ लाख १६ हजार १९५ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । अन्य बैंकको ३ लाख कित्ता गरेर १७ लाख ४९१ कित्ता संस्थापक शेयर विक्रीमा आएका छन् ।

प्रतिक्रिया दिनुहोस्