वित्तीय क्षेत्रका समस्या समाधान गर्न राष्ट्र बैंकसँग छलफल जारी छ : अर्थमन्त्री



काठमाडौं,चैत २५ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकसँग छलफल भइरहेको बताएका छन् ।

शुक्रवार आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले मौद्रिक नीतिमा विभिन्न उपकरण प्रयोग गरी बैंक तथा वित्तीय क्षेत्रका समस्या समाधान गर्न सकिने बताए । कर्जाको ब्याजदर कम गर्नसक्ने अवस्था भए बैंकहरुले पनि सहयोग गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

‘अहिलेको अवस्थालाई सरकारले मौद्रिक नीतिको उपकरण प्रयोग गरेर सहज बनाउन जरुरी छ’ महतले भने ‘त्यसको लागि मन्त्रालयले राष्ट्र बैंकसँग पनि छलफल गरिरहेको छ । कर्जामा ब्याजदर कम गर्न सक्ने ठाउँ छ भने बैंकहरुले पनि सहयोग गरुन् ।’

उनले आयात प्रतिवन्ध, कोरोना महामारी, भूकम्प र अन्तरराष्ट्रिय परिवेशको असरले मुलुकको राजस्व संकलन लक्ष्य अनुसार हुन नसकेको बताए । चालू आर्थिक वर्षमा राजस्व लक्ष्य पूरा नहुने अवस्थामा रहेको भन्दै उनले आन्तरिक लगानीको वातावरण समस्या तथा बैंकको ब्याजदर उच्च हुँदा अर्थतन्त्रमा समस्या देखिएको बताए । अर्थतन्त्रका कतिपय तथ्याङ्क राम्रो रहेको उनको भनाइ छ । मौद्रिक नीति र सरकारको आर्थिक नीति एउटै लक्ष्य प्राप्तिको लागि हुनुपर्नेमा उनको जोड छ ।

साधारण खर्चमा अत्यधिक मितव्ययिता अपनाउँदै पूँजीगत खर्च बढाउने पक्षमा सरकार रहेको महतको भनाइ छ । ‘सरकारले साधरण खर्चमा अत्याधिक मितव्ययिता अपनाउनुपर्छ भन्ने पक्षमा छौं’ उनले भने ‘सरकारले खर्च नगरे पनि फरक नपर्ने क्षेत्रहरुमा मन्त्रालयले प्राथमिकताका साथ हेर्छ ।’

प्रतिक्रिया दिनुहोस्