कलंकी–बसुन्धारा सडक विस्तार तयारी, सडक विभागसँग चिनियाँ पक्षले थाल्यो छलफल



काठमाडौं,चैत २५ । चक्रपथको दोस्रो खण्डका रूपमा कलंकीबाट बसुन्धारासम्मको सडक विस्तारका लागि तयारी थालिएको छ । सडक निर्माण शुरु गर्नुअघि चिनियाँ पक्षले स्थलगत भ्रमण गरेर सडक विभागसँग छलफल अघि बढाएको छ ।

चक्रपथको सो खण्ड विस्तारका लागि सडक विभागले केही वर्ष पहिलेदेखि निर्माणस्थल खाली गराउन लागे पनि कोभिड सङ्क्रमणका कारण चिनियाँ पक्ष आएको थिएन । अहिले अवस्था सामान्य हुँदै जाँदा काम अघि बढाउन चाहेको विभागले जनाएको छ । उनीहरू आएर काम गर्न खोजेको र दुई पटक स्थलगत भ्रमण पनि गरेको विभागका विकास सहायता समन्वय महाशाखा प्रमुख डा. विजय जैसीले बताए । पहिले पूर्वसम्भाव्यता अध्ययन गरेर काम कसरी गर्ने भनी छलफल गरिरहेको उनले जानकारी गराए ।

चक्रपथको पहिलो खण्डका रूपमा कोटेश्वर–कलङ्की सडक विस्तार गरिएको थियो । सो सडकमा निर्माणस्थल खाली नगर्दै काम शुरु गरिएकाले विस्तारका क्रममा धेरै समस्या आएको थियो । त्यही अनुभवका आधारमा चिनियाँ पक्षले पहिले निर्माणस्थल खाली भएपछि मात्रै निर्माण शुरु गर्न सरकारलाई भनेको थियो । निर्माणस्थल खाली गराउँदा धेरै समस्या व्यहोर्नुपरेको विभागले जनाएको छ ।

अहिले निर्माणस्थल खाली गर्ने क्रममा आएका धेरै समस्या समाधान भइसकेको छ । अहिलेसम्म चिनियाँ पक्षले निर्माण गर्ने लेनमा झन्डै ८० प्रतिशत जग्गा खाली गरिएको छ । गोङ्गबु चोक नजिकै मन्दिर भत्काइएको, स्वयम्भु नजिकै बाँकी रहेका दुई–तीनओटा विद्युतको पोल सारिएको र बसुन्धाराको बिसौनी नजिकै पनि निर्माणस्थल खाली भइरहेको बताइएको छ ।

सरकारले दोस्रो चरणमा चिनियाँ पक्षलाई कलङ्कीबाट चाबहिलको धोबीखोलासम्म विस्तारका लागि भनेको थियो । सोही आधारमा निर्माणस्थल खाली गराउन शुरु भए पनि महाराजगञ्ज चोक नजिकैका घरहरू हटाइएको छैन । निर्माणस्थल खाली गराउन नसकिएकाले अहिले दोस्रो चरणमा महाराजगञ्जसम्म नगरेर कलङ्कीबाट बसुन्धारासम्म मात्रै गर्ने गरी छलफल भइरहेको छ । उनले भने, ‘महाराजगञ्जमा मुख्य लेनमा पर्ने धेरै घर भत्काउनुपर्ने र जग्गाको मुद्दा अदालतमा विचाराधीन रहेकाले अहिले त्यहाँसम्म गर्न सकिने छैन ।’

तयारीका सबै काम सकाएर निर्माणमा जान अब एक वर्ष लाग्ने विभागले जनाएको छ । पहिलेको डिजाइनभन्दा केही संशोधन गर्नुपर्ने भएकाले गर्न लागिएको प्रमुख जैसीले बताए । विभागले विभिन्न निकायका पदाधिकारीसँग छलफल गर्नाका साथै एउटा खाका बनाएर चिनियाँ पक्षलाई दिएको उनले जानकारी गराए । उनीहरू अहिले त्यसमा अध्ययन गरिरहेका छन् ।

विभागले पहिलो खण्डमा भन्दा केही थप संरचना राख्न पनि चिनियाँ पक्षलाई भनिरहेको छ । भविष्यका लागि एक–दुई ठाउँमा ‘युटिलिटी डट’ राख्न भनिएको छ ।  सडकमुनि रहने यस्तो डटमा खानेपानी, विद्युत्, टेलिकम, ढललगायत संरचना राख्न सकिनेछ । प्रमुख जैसीले भने, ‘उनीहरूले त्यसका लागि पैसा नभएकाले नेपालको तर्फबाट गर्न भनेका छन् ।’

प्रतिक्रिया दिनुहोस्