ठमेलको व्यापारमा २ दशकयताकै ठूलो मन्दी : ‘पर्यटक बढे, व्यापार बढेन’
काठमाडौं,चैत २५ । काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा बढे पनि त्यहाँको व्यापार भने बढ्न सकेको छैन ।
नेपालमा मार्च महीनामा कोरोना महामारीपछिकै सबैभन्दा धेरै पर्यटक भित्रिए पनि ठमेलमा भने उल्लेख्य मात्रामा व्यापार हुन नसकेको व्यवसायीले बताएका छन् । नेपाल आउने पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी ठमेल आउने गरेका पाइएको छ । ठमेलस्थित सातघुम्तीमा विगत २२ वर्षदेखि ट्रेकिङ जान प्रयोग गरिने सामान बिक्री गर्दै आएका पून्यराम लागेजु ठमेल क्षेत्रमा पर्यटक बढे पनि व्यापार बढ्न नसकेको बताउँछन् । “कोरोना महामारी अगाडिको तुलनामा अहिले २० प्रतिशत मात्र व्यापार भएको छ”, उनी भन्छन् ।
कोरोना महामारी अघि लागेजुले दैनिक रु ५० हजारदेखि रु ६० हजारको व्यापार गर्थे । अहिले दैनिक रु आठ हजारदेखि रु दश हजारसम्मको व्यापार हुने गरेको उनी बताउँछन् । बाइस वषर्को आफ्नो व्यापारको अनुभव सुनाउँदै लागेजुले भने- “अहिले सबैभन्दा थोरै व्यापार भएको छ ।”
यस्तै, ठमेलमै लामो समयदेखि कपडा व्यापार गर्दै आएका सीताराम रेग्मी पहिलेको तुलनामा अहिले व्यापार/व्यवसाय घटेको बताउँछन् । “ठमेलका गल्लीमा प्रशस्त मात्रामा पर्यटक देखिए पनि व्यापार न्यून भएको उनी बताउँछन् । “कहिलेकाँही त बिक्री नै हुँदैन”, रेग्मी भन्छन् ।
खर्च धेरै गर्ने पर्यटक नआएका कारण व्यापार घटेको उनको भनाइ छ । रेग्मी सामान किन्ने र खर्च गर्ने पर्यटक नआएका कारण व्यापार व्यवसाय धरापमा परेको बताउँछन् । ठमेलमा विगत १४ वर्षदेखि ह्याण्डिक्राप्टको व्यापार/व्यवसाय गर्दै आएकी नेपाल ह्याण्डिक्राप्ट कलेक्सनकी सञ्चालक मीनाकुमारी बाँस्तोला पछिल्लो समय व्यापार एकदमै घटेको बताउँछिन् । “पहिलाजस्तो व्यापार छैन, पहिला पर्यटक पसलमा आउने सामान हेर्ने गर्दथे, मन परे किनेर लैजाने गर्दथे, अहिले पसलभित्र पर्यटक छिर्न मान्दैनन्”, बाँस्तोला भन्छन् ।
उनले उलन, पश्मिना, फेल्टलगायतका सामान बिक्री वितरण गर्दै आएकी छन् । ठमेलमा व्यापार व्यवसाय नहुँदा घरबेटीलाई भाडा तिर्नसमेत समस्या पर्दै गएको व्यवसायी बताउँछन् । ठमेल क्षेत्रका व्यापारीले व्यवसाय नभएको गुनासो गरिरहँदा ठमेलका होटलमा भने पर्यटकको सङ्ख्या बढेको होटल व्यवसायी बताउँछन् । ठमेलमा काठमाडौं इको होटल सञ्चालन गर्दै आएका विमल (सहदेव) धमला पछिल्लो समय ठमेलमा पर्यटकको सङ्ख्या बढेको बताउँछन् ।
“मैले सञ्चालन गरेको होटलमा अहिले दैनिक ७० देखि ८० कोठा भरिएका छन्, यो तुलनात्मक रुपमा राम्रो हो”, उनी भन्छन् । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्षसमेत रहेका धमला पर्यटक छोटो समयका लागि बस्न आउँदा ठमेल क्षेत्रको व्यापार व्यवसाय भने घटेको बताउँछन् । ठमेलमा एक/दुई रात आएर बस्ने पर्यटकका भरमा व्यापार व्यवसाय केन्द्रित रहेको उनीले सुनाए । ठमेलमा सञ्चालित चारतारे होटल ‘रमदा’का महाप्रबन्धक महेश फुयाँल आफ्नो होटलका कोठा अहिले दैनिक ९० प्रतिशतसम्म भरिन थालेको बताउँछन् । अहिले पर्यटकीय समय भएको कारण पनि होटलमा पर्यटकको सङ्ख्या बढेको उनी बताउँछन् ।

