अघि बढ्यो बजेट निर्माणको काम, आगामी आवका लागि १६–१७ खर्बको बजेट ल्याउने तयारी



काठमाडौं,चैत २७ । आगामी आर्थिक आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट निर्माणको काम अघि बढेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव भूपाल बराललाई अर्थ मन्त्रालय ल्याएर बजेट लेख्ने टोलीको नेतृत्व सुम्पेका छन् ।
 
बरालको संयोजकत्वमा पाँच सदस्यीय बजेट मस्यौदा लेखन टोली गठन गरिएको छ । फागुन २४ को अर्थमन्त्रीस्तरीय निर्णयअनुसार टोलीले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्नेछ । बजेट मस्यौदा लेखन टोलीमा सहसचिवहरू आनन्द काफ्ले, धनीराम शर्मा, जनकराज शर्मा तथा भर्खरै मन्त्रालय तानिएका सहसचिवद्वय उत्तरकुमार खत्री र बाबुराम सुवेदी छन् ।

सुवेदीलाई राष्ट्रिय योजना आयोगबाट र खत्रीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट अर्थमा तानेर बजेट लेखन कार्यमा संलग्न गराइएको हो । विष्णुप्रसाद पौडेल अर्थमन्त्री भएपछि योजना आयोगबाट अर्थ मन्त्रालय पुगेका शर्मा बजेट महाशाखा प्रमुख छन् । काफ्ले योजना तथा अनुगमन महाशाखा प्रमुख हुन् । 

अर्थमन्त्री परिवर्तनका कारण बजेट लेखन कार्य तथा छलफलमा ढिलाइ भइरहेका बेला अर्थमन्त्री महतले विश्वासिलो टीम तयार गरेर काम अघि बढाएका हुन् । लेखन समितिमा रहेका पाँचमध्ये तीन जनालाई बजेट लेखनकै लागि अन्य मन्त्रालयबाट सरुवा गरिएको हो । उनीहरू सबै अर्थका ‘क्याडर’ हुन् । अर्थ मन्त्रालयबाट सहसचिव सुमन दाहाल र झक्कप्रसाद आचार्यको सरुवा भएको छ । उनीहरू पौडेल अर्थमन्त्री भएको बेला अर्थमा भित्रिएका थिए ।

राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई बजेटको सिलिङ पठाएको छ । मन्त्रालयहरूले पनि आफ्ना निकायलाई मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) मा समावेश गर्न लगाएर बजेट प्रस्ताव गरिसकेका छन् । सरकारी नीति, राष्ट्रिय नीति तथा दीर्घकालीन योजनालाई आधार मानेर तीसँग समानान्तर हुने गरी बजेट ल्याइने अर्थ मन्त्रालयका सहसचिव आनन्द काफ्ले बताउँछन् । यस वर्ष १६–१७ खर्बभित्र रहेर बजेट ल्याउने अर्थ मन्त्रालयको तयारी छ ।

अर्थ मन्त्रालयले आगामी आवको बजेटमा सुझावसमेत मागेको छ । बजेट मस्यौदा लेखन टोली गठन भएसँगै सरोकारवाला तथा सर्वसाधारणबाट सुझाव माग गरिएको हो । बजेटमा औपचारिक सुझाव २०८० वैशाख १५ अगावै दिन सकिनेछ । मन्त्रालयको सूचनामा भनिएको छ, ‘आर्थिक वर्ष २०८०/८१ को नेपाल सरकारको बजेट तथा तर्जुमासम्बन्धी कार्य प्रारम्भ भइसकेको छ । आगामी आवको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयहरूका सम्बन्धमा आफ्ना अमूल्य सुझावहरू आगामी २०८० वैशाख १५ गतेभित्र यस मन्त्रालयमा उपलब्ध गराई सहयोग गरिदिनु हुन अनुरोध छ ।’ 

मन्त्रालयले विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत् तथा आम नागरिकको नाममा सूचना जारी गर्दै सुझाव माग गरेको हो । बजेटमाथि सुझाव मन्त्रालयको वेबसाइटमा रहेको बजेट सजेसन ट्याबमार्फत वा इमेलमार्फत दिन सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्