निजी क्षेत्र चलायमान नभए आर्थिक वृद्धि सम्भव छैन : अर्थमन्त्री महत



काठमाडौं,चैत २७ । अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र चलायमान नभएसम्म आर्थिक वृद्धि र राजश्व वृद्धि सम्भव नभएको बताएका छन् ।

सोमबार नेपाल चेम्बर अफ कमर्सको ७२ औं वार्षिक साधरण सभामा बोल्दै अर्थमन्त्री डा.महतले आर्थिक वृद्धि र उद्योग व्यवसायको बिस्तार निजी क्षेत्रको काँधमा भएको भन्दै निजी क्षेत्र चलायमान नभएसम्म आर्थिक वृद्धि र राजश्व वृद्धि सम्भव नभएको बताएका हुन् ।

उनले आर्थिक गतिविधिलाई चालयमान बनाउन राज्यको लगानीले मात्रै नपग्ने बताए । उनले वाह्य र स्थानीय लगानीलाई प्रवद्र्धन नगरी आर्थिक समृद्धिको लक्ष्य पूर्ति हुन नसक्ने दाबी गरे। उनले निजी क्षेत्र सरकारको साझेदार भएको भन्दै राज्य र निजी क्षेत्रको साझेदारीमा मात्रै अर्थतन्त्र अगाडी बढाउन सकिने बताए ।

उनले सरकार सामाजिक सेवा र पूर्वाधारको विकासमा मुख्य रुपमा केन्द्रित हुने बताए । उनले सरकार पुँजीगत खर्चलाई प्रभावकारी ढङ्गमा खर्च गर्न प्रतिवद्ध रहेको बताए । उनले पुँजीगत खर्च सकेसम्म कम हुन नदिने र पुँजीगत खर्चलाई प्रभावकारी ढंगले गर्ने सरकारको लक्ष्य रहेको बताए । उनले सरकार पुँजीगत खर्चलाई प्रभावकारी बनाउन आवश्यक उपाय अपनाउन आफू तयार रहेको बताए ।

अर्थमन्त्री डा. महतले मुलुकको अर्थतन्त्र सुधार तत्काल हुन्छ भन्ने भावना विकसित गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताए। उनले पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्या र चुनौतिको समाधान गरी अर्थतन्त्रमा सुधार ल्याउन कुनै काम बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे । अर्थमन्त्री महतले अर्थतन्त्रमा समस्या देखिएपनि महत्वपूर्ण आर्थिक सूचकांकहरु सकारात्मक रहेकाले निराश हुनुपर्ने अवस्था नरहेको बताउन ।

प्रतिक्रिया दिनुहोस्