अर्थमन्त्री र विश्व बैंकका क्षेत्रीय उपाध्यक्षबीच भेटवार्ता



काठमाडौं,चैत ३० । अर्थमन्त्री डा. प्रकाशशरण महत र विश्व बैंक दक्षिण एशिया क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजरबीच माथिल्लो अरुण जलविद्युत निर्माणको विषयमा छलफल भएको महतको सचिवालयले जनाएको छ । विश्व बैंकले नेतृत्व गरिरहेको १०६१ मेगावाटको माथिल्लो अरुणमा थप लगानीकर्ता पनि विश्व बैंकले नै खोज्ने भएकाले यस विषयमाछलफल भएको थियो ।

बुधवार भएको टेलिफोन वार्तामा डेभलपमेन्ट पोलिसी रिभ्यू (डिपीसी) को प्रभावकारिता र कार्यान्वयनका विषयमा छलफल भएको थियो । आगामी जुन महीनामा नेपालमा डीपीसी पुनरावलोकनका सम्बन्धमा पनि थप छलफल हुने भएको महतको सचिवालयले जनाएको छ ।

माथिल्लो अरुण आयोजना सम्पन्न गर्ने विषयमा छलफल हुनुका साथै अन्य पूर्वाधार विकासमा पनि विश्व बैंकको सहयोग के कस्तो रहन्छ भन्ने विषयमा मन्त्री डा. महतले चासो राखेका थिए ।

भौतिक पूर्वाधार विकासका लागि विश्व बैंकको नेपालमा धेरै ठूलो लगानी रहेको र यसलाई अझ  वृद्धि र प्रभावकारी कार्यान्वयन गराउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताइएको छ ।

पूर्वाधार विकासमा विश्व बैंकको सहयोगलाई नेपालमा अझ बढी कसरी उपयोग गर्न सकिन्छ भन्ने प्रस्ताव अर्थमन्त्री डा. महतले राखेका थिए । महतको चासोमा क्षेत्रीय उपाध्यक्ष रेजरबाट सकारात्मक जवाफ आएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्