चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला,९ महीनामा मर्नेको संख्या १६ पुग्यो



चितवन,चैत ३० । चितवन राष्ट्रिय निकुञ्जमा दुईओटा गैंडा (बच्चा) मृत फेला परेका छन् । अन्दाजी ७ महिनाको पोथी गैंडा (केटी) र ६ महिनाको भाले गैंडा (केटो) मृत अवस्थामा फेला परेको निकुञ्जले जानकारी दिएको छ । 

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले सोमवार मध्यान्हतिर ती गैंडा (Raino) फरकफरक स्थानमा मृत भेटिएको जानकारी दिए । उनका अनुसार निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत मर्दी घोलस्थित कोर क्षेत्रमा पर्ने नारायणी नदीको भङ्गालोनजिकै मध्यान्ह १२ः३० पोथी गैंडा मृत अवस्थामा भेटिएको थियो ।

यस्तै, निकुञ्जको बगई माडी सेक्टरअन्तर्गत रिउ खोलाको दक्षिण किनारको मध्यवर्ति क्षेत्रमा पर्ने काँस घारीमा (माडी नगरपालिका–९) दिउँसो १ः२० बजे भाले गैंडा मृत अवस्थामा भेटिएको थियो । 

पोथी गैंडा भाले गैंडाको आक्रमणबाट मृत्यु भएको र भाले गैंडा बाघ (Tiger)को आक्रमणबाट मरेको तिवारीले जानकारी दिए । दुवै गैंडा सानो उमेर भएकोले खाग नपलाएको उनले बताए । 

योसँगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालू आर्थिक वर्ष (आव)को अहिलेसम्म करीब ९ महीनामा मरेका गैडाको संख्या १६ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्