मेलम्ची खानेपानीको कार्य प्रगति न्यून, यो वर्ष साढे ३० अर्ब खर्च
काठमाडौं,वैशाख ३ । मेलम्ची खानेपानीमा यो वर्ष ३० अर्ब ६५ करोड ९६ लाख रुपैयाँ खर्च भएको छ । महालेखापरीक्षकका अनुसार राष्ट्रिय गौरवका आयोजनामध्ये २०५५।०५६ मा शुरु भएको मेलम्ची आयोजनाको लागत अनुमान ३५ अर्ब ५४ करोडमा रहेकोमा यो सो सो रकम खर्च भएको हो ।
आयोजनाको भौतिक प्रगति ९९.४७ प्रतिशत रहेकोमा २०७८ असार १ गते मेलम्ची खोलामा आएको भीषण बाढीका कारण निर्माणाधीन हेडवक्र्समा क्षति भइ पानी पथान्तण कार्य अवरुद्ध भएको छ । उक्त आयोजनाको दोस्रो चरण तर्फ हालसम्म आयोजनको पहुँचमार्ग निर्माण कार्यमात्र भइरहेको र स्थानीय अवरोधका कारण सुरुङ लगायतका कार्य शुरु हुन नसकी आयोजना संचालनमा प्रभाव परेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरीएको छ ।
मेलम्ची खानेपानी आयोजनाको उप आयोजना २ अन्तर्गत २०६५।६६ देखि हालसम्म ३३ अर्ब ४१ करोड ३६ लाख खर्च भइ आयोजना कार्यान्वयन निर्देशनालय मार्फत संचालनमा रहेको आयोजनामध्ये थोक विरण प्रणाली तर्फ १०३ किलोमिटर कार्य सम्पन्न गर्नुपर्नेमा ७७ किलोमिटर र वितरण सञ्जाल सुधारतर्फ १ हजार ७८३ किलोमिटर कार्य सम्पन्न गर्नुपर्नेमा १ हजार ३२१ किलोमिटर मात्र सम्पन्न भएको छ ।
त्यस्तै, ढल प्रशोधन तर्फ सल्लाधरी, कोड्कु र धोबिघाट ढल प्रशोधन निर्माण कार्यको २६.८१ प्रतिशत, धोबिघाट ढल प्रशोधन केन्द्र निर्माण कार्य ७१.५ प्रतिशत र गोकर्ण हनुमानघाट ढल सुधार आयोजना निर्माणको ०.५ प्रतिशत मात्र सम्पन्न भएको छ ।

