राजस्वसम्बन्धी सर्भर डाउन : अनलाइन राजस्व सङ्कलन ठप्प, चेक पनि साटिएन
काठमाडौं,वैशाख ५ । सरकारी राजस्वसम्बन्धी सर्भर डाउन हुँदा राजस्व सङ्कलन (Revenue Collection) प्रभावित बनेको छ । सोमबार बिहान ११ बजेदेखि १ बजेसम्म सरकारी राजस्वसम्बन्धी सर्भर डाउन (server down) भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
‘यस कार्यालयबाट सञ्चालित प्रणाली आरएम आईए, टीएसए, सीजीएएस, सूत्र, पीएएमएसलगायत प्रणालीमा प्राविधिक समस्या देखिएकाले आज बिहान ११ बजेदेखि १ बजेसम्म प्रणाली सञ्चालन हुन नसकेकाले यसबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दछौं,’ कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।
दिउँसो १ बजेपछि सर्भर सञ्चालनमा आए पनि पूर्णरूपमा भने सञ्चालनमा आउन नसकेको महालेखा नियन्त्रकको कार्यालयका सूचना अधिकारी गायत्रीरमण खनालले जानकारी दिए । ‘दिउँसो ३ घण्टा सर्भर पूर्णरूपमा डाउन भएको थियो । १ बजेपछि सञ्चालनमा आउँदा एकैपटक धेरैले सर्भर चलाउन स्लो भएको छ’, उनले भने ।
उनका अनुसार सरकारी सर्भरमा समस्या देखिएपछि आज अनलाईनमार्फत हुने राजस्व सङ्कलन ठप्प भएको छ । राजस्व सङ्कलनसँगै काटिएका चेक (Check)समेत नसाटिएको उनले बताए ।

