तिब्बतमा नेपाली लगानीको कार्पेट उद्योग स्थापना



काठमाडौं,बैशाख ७ । काठमाडौंस्थित सामलिङ कार्पेट उद्योगले चीनको स्वाशासित क्षेत्र तिब्बतमा कार्पेट उद्योग स्थापना गरेको छ । करीब रू. ३० करोड लगानीको उक्त उद्योगमा सामलिङको पूर्ण स्वामित्व रहेको छ । पूर्ण रूपमा वैदेशिक लगानीमा स्थापना गरिएको सिगात्सेको यो पहिलो उद्योग भएको स्थानीय अधिकारीले बताएका छन् ।

परम्परागत हस्तकला उद्योगको विकासका लागि चीन सरकारको योजनाबमोजिम उक्त उद्योग स्थापना गरिएको सिगात्से प्रिफेक्चरका अधिकारी वाङ तुलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । उद्योगले ३ हजार ५ सयलाई रोजगारी दिँदै वार्षिक ७ करोड चिनियाँ युआन (करीब ७७ करोड नेपाली रुपैयाँ) को कार्पेट विक्रीको लक्ष्य राखेको छ । यसका लागि उद्योगबाट वार्षिक २ लाख वर्गमिटर तिब्बती ऊनी कार्पेट उत्पादन गर्ने लक्ष्य राखिएको कम्पनीका अध्यक्ष सेटेन जिग्मेले बताए ।

सामलिङ नेपालका प्रमुख कार्पेट उद्योगमध्ये एक मानिन्छ । यसले वार्षिक १ लाख ४४ हजार वर्गमिटर कार्पेट उत्पादन गर्दै आएको कम्पनीले बताएको छ । तिब्बतमा गरिएको लगानीले कम्पनीमा नयाँ आत्मविश्वास पैदा भएको र आगामी दिनमा थप गलैँचा उत्पादनमा लगानी बढाउन हौसला मिलेको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्