निजी क्षेत्र राज्यलाई कर छल्ने प्रयासमा छ: प्रधानमन्त्री दाहाल



काठमाडाैं,बैशाख ९ । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रहरूले अझै पनि मौका पाएसम्म राज्यलाई कर छल्ने प्रयास गरिरहेका बताएका छन् ।

शनिबार काठमाडाैंमा आयाेजित एक कार्यक्रममा बाेल्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले सरकार पनि निजी क्षेत्रलाई पाएसम्म दबाउनुपर्छ भन्ने मानसिकताबाट मुक्त हुन नसकेको बताए । उनले निजी क्षेत्रले नाफा मात्रै खोजेको छ भन्ने सोचबाट राज्य मुक्त हुनुपर्ने बताए । उनले दुवैतर्फबाट यस्ता अनुचित सोच नत्यागेसम्म अर्थतन्त्रले गति लिन नसक्ने बताए ।

प्रधानमन्त्री दाहालले अहिले विचार, सिद्धान्त, राजनीति, मूल्य, मान्यताको कुरा विस्तार हराउँदै उपभोक्तावादतिर समाज गइरहेको बताए। उनले राजनीति र समाज नै राष्ट्र, समाज र आमजनताको दीर्घकालीन हिततिर भन्दा तत्काल नाफा नोक्शातिर केन्द्रित हुने गरेको आरोप लगाए । उनले राजनीतिमा पनि राजनीतिक एजेण्डातिर भन्दा आवेगतिर जाने खतरा पैदा भइरहेको उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले आर्थिक विकासको रणनीतिकाे बारेमा राजनीतिक दलहरुले साझा धारण बनाउन नसक्दा देशको विकासमा ढिलो भइरहेको बताए । उनले विदेशीले विकसित गरेका विचार, दर्शन, सिद्धान्त, मान्यताको अन्ध अनुकरण गन प्रवृत्ति हावी हुँदै गएको बताए ।

प्रतिक्रिया दिनुहोस्