मासु पसलमा लागेको आगोले ५ ओटा पसल जलेर नस्ट, एक करोड रुपैयाँ बराबर क्षति
काठमाडौं,बैशाख १०। काठमाडौंको टोखामा आगलागी हुँदा रू. १ करोड बराबरको क्षति भएको छ । टोखा नगरपालिका-८ मिलनटोलस्थित मिलन बजारमा गत राति धर्मराज डंगोलको मासु पसलमा ग्यास लिक भई आगलागी भएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आगलागीबाट पाँच पसलमा रहेका सामान नष्ट भएका छन् । तीन खाली सटरसमेत जलेर नष्ट भएका छन् ।
आगालागीबाट कमला तामाङले सञ्चालन गरेको जुत्ता पसल जल्दा रू. १६ लाख, मुना थापाले सञ्चालन गरेको फेन्सी पसल जल्दा रू. ३५ लाख, प्रदीप लम्सालले सञ्चालन गरेको डेरी जल्दा रू. २ लाख, विकास श्रेष्ठले सञ्चालन गरेको सिलाइ कपडा पसल जल्दा रू. २ लाख, मधु न्यौपानेले सञ्चालन गरेको मोबाइल पसल जल्दा रू. २० लाख र धर्मराज डंगोलले सञ्चालन गरेको मासु पसल जल्दा रू. २५ लाखको क्षति भएको रिजालले जानकारी दिए ।
यस्तै श्याम श्रेष्ठ, टेकराज पोखरेल र धनबहादुर बस्नेतको पसलको सटरसमेत जलेर नष्ट भएको छ । नेपाल प्रहरी, स्थानीयबासी र दमकलको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ । –रासस

