डोटी सुन्तडीमा चोयाबाट सामग्री बनाउने व्यावसायिक तालीम



डोटी,बैशाख १० । डोटीको बोगटान फुड्सिल गाउँपालिका-४ सुन्तडीमा बाँस तथा निगालोका चोयाबाट विभिन्न सामग्री बनाइने भएको छ ।

यसमा युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा ग्रामीण समुदाय विकास केन्द्र डोटीद्वारा सञ्चालित दिगो वातावरणको लागि जलवायु परिवर्तन प्रभाव न्यूनीकरण तथा अनुकूलन परियोजनाले सहजीकरण गर्न थालेको छ ।

घरेलु तथा साना उद्योग कार्यालय डोटीको सहकार्य तथा बोगटान फुड्सिल गाउँपालिकाको समन्वयमा विपन्न समुदायको जीविकोपार्जनमा टेवा पुर्‍याउने उद्देश्यले ४५ दिने बाँस तथा निगालोको सामग्री निर्माण गर्ने शीप विकास तालीम गत चैत २७ गतेदेखि शुरू गरेको ग्रामीण समुदाय विकास केन्द्र डोटीका सबइञ्जिनीयर करनबहादुर विष्टले बताए ।

विपन्न परिवारको जीविकोपार्जनमा सहयोग पुर्‍याउन सञ्चालन गरिएको तालीमका सहभागीले बाँस र निगालोबाट अहिले मुडा, कलम राख्ने, सामग्री राख्न मिल्ने डालालगायत वस्तु बनाउन सिकिरहेको उनले जानकारी दिए ।

स्थानीयस्तरमा उपलब्ध हुने बाँस तथा निगालोको धेरै प्रकारका सामग्री निर्माण गर्न सके दैनिक जीवन निर्वाहका साथै आयआर्जमा सहजता हुने तालीमका सहभागीले बताएका छन् । डोटीको बोगटान फुड्सिल गाउँपालिका-४ सुन्तडीमा सञ्चालन भएको शीपमूलक तालीमबाट दक्ष जनशक्ति उत्पादन हुने बोगटान फुड्सिल गाउँका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए । 

गाउँपालिकाभित्र जोकोही व्यक्ति शीप सिकेर स्थानीयस्तरमा व्यावसायिक कामको शुरूआत गर्ने व्यक्तिलाई पालिकाले पनि सहयोग गर्ने उनले जानकारी दिए । ४५ दिने शीपमूलक तालीममा बोगटान फुड्सिलको वडा न १ र ४ का ११ जना सहभागी रहेको आयोजकले जनाएको छ । तालीममा दक्ष प्राविधिकले सहजीकरण गरिरहेको जनाइएको छ । –रासस

प्रतिक्रिया दिनुहोस्