प्रसारण लाइनमा समस्या देखिँदा नियमित विद्युत आपूर्तिमा कठिनाइ : विद्युत प्राधिकरण



काठमाडौं,बैशाख ११ । नेपाल विद्युत प्राधिकरण (Nepal Electricity Authority) ले प्रसारण लाइनमा देखिएको समस्याका कारण उद्योगहरूलाई विद्युत (Electricity) आपूर्तिमा असहजता देखिएको बताएको छ । कतिपय औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीले आफूहरू नियमित बिजुली प्राप्त गर्नबाट वञ्चित रहेको भन्ने गुनासो गरेपछि प्राधिकरणले त्यसको कारण प्रष्ट पारेको हो । 

आइतवार प्राधिकरणको केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘उद्योगहरूबाट विद्युत लोडसेडिङ (Loadshadding) भएको भन्ने कुरा आएको छ । यो प्रविधिक कारणले भएको हो । प्रसारण लाइनमा समस्या देखिँदा यस्तो हुन गयो ।’ 

नेपाल (Nepal)बाट उत्पादन हुने बिजुलीको उत्पादन घटेको र भारत (India)बाट आयात (Import) गर्ने विद्युतलाई प्रसारण लाइनको समस्याका कारण औद्योगिक क्षेत्रसम्म पुर्‍याउन नसकिएको उनको भनाइ छ । 

विद्युत प्राधिकरणले अहिले नेपालको कुल जडित क्षमता २७०० मेघावाट पुगे पनि सुख्खायाममा उत्पादन घट्ने गरेको जानकारी दिएको छ । कार्यकारी निर्देशक घिसिङका अनुसार सुख्खायाममा विद्युत उत्पादन घटी नै रहन्छ । तर, यस वर्ष पानी एवं हिउँ कम पर्दा उत्पादन धेरै नै कम भएको छ,’ उनले थपे, ‘यसकोविपरीत माग बढेको स्थिति छ । खासगरी उद्योग र सिँचाइमा माग बढेको छ ।’

अहिले नेपालमा पिक आवरमा १७५० सय मेघावाट, न्यूनतम १२०० मेघावाट र औसतमा १३०० मेघावाट विद्युत माग रहेको विद्युत प्राधिकरणले जनाएको छ । भारतबाट टनकपुर र ढल्केवर प्रसारण लाइनमार्फत विद्युत आयात भइरहेको र अहिले ५०० मेघावाट आयात भइरहेको पनि प्राधिकरणले जानकारी दिएको छ । ‘उद्योगहरूको सजिलोको लागि आयातको मात्रालाई बढाउन सकिन्थ्यो । तर, प्रसारण लाइनले धान्ने अवस्था छैन,’ कार्यकारी निर्देशक घिसिङले भने । 

उनले ढल्केवर पूर्व र पश्चिमका प्रसारण लाइनको क्षमता बढाउने कार्य चलिरहेको र ५ महीनादेखि १ वर्ष भित्रमा सम्पन्न हुने बताए । साथै विद्युतको सहज आपूर्ति गर्न सकिने ढल्केवर आसपासको क्षेत्रमा उद्योग स्थापना गर्न घिसिङले उद्योगीहरूलाई आग्रह पनि गरेका छन् । 

प्राधिकरण (NEA)ले १०/१५ दिन भारतबाट विद्यु्त आयात गर्नुपर्ने भए पनि जेठको पहिलो साताबाट विद्युत निर्यात गर्ने आफूहरूको योजना रहेको जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्