चीनको ऋणमा बनेको पोखरा विमानस्थलबाट चिनियाँ शहरमा सिधा हवाई सम्पर्कका लागि आग्रह
काठमाडौं,बैशाख १३ । पोखराका पर्यटन व्यवसायीहरूले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न शहरमा सिधा हवाई सम्पर्क स्थापनाका लागि चिनियाँ राजदूतसँग आग्रह गरेका छन् ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठको नेतृत्वमा गएको टोलीले मंगलवार नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गलाई भेटेर पोखराबाट चीनका विभिन्न शहरमा सिधा उडान गर्ने व्यवस्था मिलाइदिनका लागि अनुरोध गरेको हो ।
सो क्रममा कोरला नाका छिटो खोल्नका लागि विशेष पहल गर्न पनि राजदूतसँग अनुरोध गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए ।
भेटघाटमा पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मोतिराज तिमल्सिना, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवन प्रजापति, ओभरसिज चाइनिज नेपाल एशोसिएशनका अध्यक्ष, सचिव लगायतको उपस्थिति थियो ।
पोखरेली पर्यटन व्यवसायीका तर्फबाट चिनियाँ राजदूतावासको आयोजनामा जुनको २२ र २३ मा पोखराको फेवातालमा हुन लागेको ड्रागन बोट रेस फेस्टिभललाई भव्य बनाउनका लागि पनि आफूहरू प्रतिबद्ध रहेको उक्त अवसरमा जानकारी गराइएको थियो । रासस

