सगरमाथा चढ्ने आरोहीबाट नेपाललाई ७३ करोड राजस्व, ४६३ जनाले लिए अनुमति
काठमाडौं,बैशाख १४ । यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४५० भन्दा बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार बुधवारसम्म ४२ आरोही समूहका ४६३ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका हुन् ।
पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाका अनुसार अब दुई/तीन जना नेपाली र केही विदेशी सगरमाथा आरोहणको अनुमति लिने प्रक्रियामा छन् । समग्रमा यो वर्षको वसन्त ऋतुमा करीब ४७० आरोहीले अनुमति लिने विभागको अनुमान रहेको छ ।
अनुमति लिएका आरोही अहिले सगरमाथाको आधार शिविर र दोस्रो शिविरमा आरोहणको प्रतीक्षामा छन् ।
सगरमाथाको चौथो शिविरसम्म आइसफल डाक्टरले बाटो बनाइसकेका छन् । सगरमाथाको चुचुरोमा डोरी टाँगेपछि आरोहण शुरू हुन्छ । सरकारले सगरमाथा आरोहण अनुमतिबाट मात्रै ७३ करोड ७४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । रासस

