भारत, चीनसँग कर्जा पुनःसंरचनाबारे छलफल गर्दै श्रीलंका
काठमाडौं,बैशाख १५ । श्रीलंका (Sri lanka)ले भारत (India), चीन (China) र पेरिस क्लबसँग छुट्टाछुट्टै रूपमा कर्जा पुनःसंरचनाबारे वार्ता गर्ने भएको छ । श्रीलंकाको कर्जा घटाउन अनि सोको व्यवस्थापन गर्न बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (IMF)को समर्थनमा सो वार्ता थाल्न लागिएको श्रीलंकाली राष्ट्रपति रनिल विक्रमसिंघेले बुधबार संसदमा भनेको भन्दै भारतको सरकारी समाचार संस्था Press Trust of India (पीटीआई)ले समाचार छापेको छ ।
श्रीलंका आन्तरिक कर्जालाई बाह्य कर्जासँगसँगै पुनःसंरचना गर्ने विचारमा भएको अर्थमन्त्रीसमेत रहेको विक्रमसिंघेले बताएका छन् । श्रीलंकाको कुल कर्जा ८३ अर्ब ६० करोड डलर छ । योमध्ये विदेशबाट लिइएको कर्जा ४१ ऋर्ब ५० करोड डलर छ भने घरेलु कर्जा ४२ अर्ब डलर छ ।
गएको महीना मात्रै श्रीलंकाले कर्जाको भारसँग जुध्न भनेर आईएमएफबाट २ अर्ब ९० करोड डलरको वित्तीय उद्धार प्याकेज (bailout package) पाएको थियो । यो आईएमएफबाट श्रीलंकाले पाएको १७ औं वित्तीय उद्धार हो ।
सो प्याकेज दिनुअघि कोषले श्रीलंकासामु कयौं शर्तहरू तेर्स्याएको थियो । सरकारले अहिले भारत, चीन र पेरिस क्लबसँग छुट्टाछुट्टै रूपमा कर्जा पुनःसंरचनाको लागि वार्ता गरिरहेको विक्रमसिंघेले बताएका छन् । स्थानीय कर्जाबारे भने कुनै ठोस निर्णय नभएको बताइएको छ । चीनले यस विषयमा छुट्टै काम गर्ने अपेक्षा गरिएको उनले संसदमा बताए । भारत र पेरिस क्लबसँग पनि भिन्नाभिन्नै छलफल भइरहेको उनको भनाइ थियो ।
स्थानीय कर्जा पुनःसंरचनाबारे पनि वार्ता शुरू भएको उनले बताएका छन् । श्रीलंकाले विदेशी कर्जादाताहरूसँग पनि वार्ता शुरू गर्ने बताइएको छ । आफूहरूले सबै पक्षबारे राम्ररी विचार गर्न जरुरी भएको उनको भनाइ छ । विदेशी कर्जादाताहरूसँग कर्जाको पुनःसंरचनाबारे वार्ता थाल्ने हो भने घरेलु कर्जाबारे पनि निर्णय लिनुपर्ने उनले बताए । कोषसँगको वार्ताले श्रीलंकाको विदेशी कर्जा १७ अर्ब डलर कम गर्ने अपेक्षा गरिएको विक्रमसिंघेले बताएका छन् । एजेन्सी

