प्रधानमन्त्रीको पहलपछि नुवाकोटका किसान घिमिरेको माग सम्बोधन



काठमाडाैं,बैशाख १५ । सरकारले नुवाकोटका किसान श्रीराम घिमिरेको माग पूरा गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्यसचिव शङ्करदास वैरागीमार्फत कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मालाई किसान घिमिरेले उठाएको माग सम्बोधन गर्न बिहीबार नै निर्देशन दिएका थिए ।

सचिव घिमिरेलगायतको टोलीले किसान घिमिरेसँग शुक्रबार वार्ता गरेको थियो । सोही वार्ताका आधारमा माग सम्बोधन गर्ने प्रतिवद्धता सरकारको तर्फबाट व्यक्त भएको छ । प्रधानमन्त्री प्रचण्डले जनजीविकाका सवाललाई उठाएर कोही कसैले पनि आन्दोलन गर्नु नपर्ने र त्यसका लागि सरकारले नै सबै माग सम्बोधन गर्ने बताउँदै किसान घिमिरेले उठाएका विषयलाई समाधान गर्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

प्रधानमन्त्रीको निर्देशनअनुसार नै उनको माग सरकारले सम्बोधन गर्ने प्रतिवद्धता जनाएको छ । माग सम्बोधन हुने भएपछि घिमिरेले आमरण अनशनसहितको कार्यक्रम स्थगित गर्ने विश्वास लिइएको छ । घिमिरेले कृषक परिचय पत्रको व्यवस्था गर्न, न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराउन, मल, बीउ, विषादी कृषियन्त्र पूर्णरुपमा अनुदान उपलब्ध गराउन माग गर्दै बैशाख ५ देखि काठमाडौँको भूगोल पार्कमा आमरण अनशनमा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्