सरकारले चैतमा महीनामा मात्र गर्‍यो साढे ३३ अर्ब रकमान्तर



काठमाडौं,बैशाख १७ । चालु आर्थिक वर्षको चैत महीनामा मात्र सरकारले करीब साढे ३३ अर्ब रूपैयाँ बराबर रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘२०७९ चैत महीनामा पुँजीगततर्फ रू. १ करोडभन्दा बढीको एक उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा भएको रकमान्तरको विवरण’ अनुसार रू. ३३ अर्ब ३४ करोड ४५ लाख ८१ हजार बराबर रकमान्तर भएको हो ।

यो अवधिमा अर्थ मन्त्रालयले रू. २७ अर्ब बराबर आन्तरिक ऋण तिर्नका लागि रकमान्तर गरेको छ । यो रकम अर्थ विविध शीर्षकबाट निकासा दिइएको छ । त्यस्तै अर्थ विविध शीर्षकबाटै गण्डकी प्रदेश प्रमुखको कार्यालयको चालु खर्चका लागि रू. २८ लाख ४३ हजार बराबर थप निकासा दिइएको छ ।

संघीय संसद् सचिवालका कर्मचारी, सुरक्षाकर्मी र पदाधिकारीका स्वकीय सचिवालयका कर्मचारीका लागि अतिरिक्त समय भत्ताका रूपमा रू. ५० लाख निकासा दिइएको छ । लोकसेवा आयोगलाई रू.४ करोड ३३ लाख, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका लागि रू. ६ करोडका बराबर निकासा दिइएको छ ।

चैत महीनामा दुई ओटा योजना तथा कार्यक्रमका लागि बहुवर्षीय ठेक्काको स्रोत सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत ललितपुरको गोदावरीमा राष्ट्रिय ‘हरवोरियम’ भवन निर्माणका लागि रू. ४० करोड ५० लाख र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सामाखुसी-टोखा-गुज्रे सडक आयोजनाका लागि रू. ७ करोड ६२ लाख बराबर स्रोत सहमति दिइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बूढीगण्डकी जलविद्युत् आयोजनाको रू. १९ करोड रकमान्तर गरेर नदी नियन्त्रण आयोजनाका लागि दिएको छ । त्यसैगरी पालुङटार-कुण्डुटार सिँचाइ आयोजनाको रू. ३ करोड ६४ लाख र सिँचाइ पुनःस्थापना आयोजनाको रू. ३ करोड ९० लाख बराबर रकमान्तर गरेर नदी नियन्त्रण आयोजनाका लागि दिइएको छ ।

बूढीगण्डकी जलविद्युत् आयोजनाको रू. २१ करोड रकमान्तर गरेर बृहत् सरकारी सिँचाइ योजनाको पुनःस्थापना तथा व्यवस्थापन कार्यक्रमका लागि र रू. २५ करोड रकमान्तर गरी सुनसरी-मोरङ आयोजनालाई दिइएको छ । बूढीगण्डकीकै रू. २० करोड समृद्ध तराई-मधेश सिँचाइ विशेष कार्यक्रमका लागि र रू. ६ करोड भूमिगत स्यालो ट्युबवेल कार्यक्रमका लागि दिइएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उत्तर-दक्षिण राजमार्गको रू. ९ करोड घटाएर काठमाडौं उपत्यका सडक विस्तार आयोजनालाई रकमान्तर गरिएको छ । राप्ती लोकमार्गको रू. ६ करोड ५० लाख रकमान्तर गरेर स्थानीय सडक पुल निर्माण कार्यक्रमका लागि र प्रदेश राजधानी जोड्ने राजमार्ग स्तरोन्नति कार्यक्रमको रू. १० करोड रकमान्तर गरेर निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमलाई दिइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्