वीरगञ्ज महानगरमा जथाभावी फोहर फ्याक्नेमाथि सार्वजनिक मुद्दा चलाइने



वीरगञ्ज,बैशाख १७ । कही तपाईं वीरगञ्ज महानगर (Birgunj Metropolitan) क्षेत्रमा जथाभावी फोहर त फाल्दै हुनुहुन्न ? यदि जथाभावी फोहर फाल्दै हुनुहुन्छ भने अबदेखि नफाल्नुहोला । नत्र तपाईंमाथि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा दर्ता गरिनेछ । 

मधेश प्रदेशको एक मात्र वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रलाई सुन्दर, सफा, नमूना महानगर बनाउने उद्देश्यले नियमित सरसफाईसँगै जथाभावी फोहर फाल्नेमाथि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको हो । महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फाल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहर फ्याक्नेउपर सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफदिन मियाँले जानकारी दिए ।  

‘जथाभावी फोहर फाल्नेसँग हामीले गत २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउँदै आएका छौं, अझै फोहर फाल्ने क्रम रोकिएको छैन’, सरसफाइ शाखा प्रमुख सरफदिन मियाँले भने, ‘जरिवाना गर्दा फोहर फाल्ने केही कम त भएको छ । तर, अपेक्षाकृतरुपमा घटेको छैन ।’ त्यसैले अब फोहर फाल्नेलाई जरिवाना मात्रै होइन, सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने तयारी गरिएको उनले बताए । 

गत पुस १७ गतेदेखि हालसम्म जथाभावी फोहर फ्याँक्ने व्यक्ति र संस्था गरी ३६२ बाट महानगरले रू. ८ लाख ७१ हजार जरिवानाबापत राजस्व सङ्कलन गरेको छ । ‘घर, पसल र कार्यालयबाट निष्किने फोहर जताततै फ्याँक्ने प्रवृत्ति छ’, मियाँले भने, ‘त्यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले फोहर फ्याँक्नेलाई जरिवाना गर्ने अभियान शुरु गरेका छौं ।’ यो अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने योजना बनाएको उनको भनाइ छ । 

सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ ओटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ । महानगरपालिको वडा नम्बर १ देखि ३२ वडामा वीरगञ्जस्थित पृथी तारा एमके इनरनेशनल जेभीसँग गत २०७६ जेठ २ सम्झौला गरी नियमित सरसफाइ गर्दै आएको छ । 
    
विगतमा डम्पिङ साइड (Dumping Site) नहुँदा फोहरमैला व्यवस्थापनमा समस्या हुँदै आएकोमा चार वर्षअघि महानगरले आफ्नो डम्पिङ साइड बनाएपछि फोहरमैला व्यवस्थापनमा अहिले कुनै समस्या नरहेको उनले बताए ।      

विगत केही वर्षअघिसम्म अस्तव्यस्त र दुर्गन्धित नगरको रूपमा परिचित महानगर क्षेत्रलाई सरसफाइ दृष्टिले मुलुककै नमूना महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाइएपछि यतिबेला वीरगञ्ज महानगर क्षेत्र सफा र सुन्दर देखिन थालेको छ । 

प्रतिक्रिया दिनुहोस्