उत्पादन र रोजगारलक्षित नीति, कार्यक्रम र बजेट ल्याउछौं : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं,बैशाख १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताएका छन् ।
आइतबार दिउँसो सिंहदरबारमा किसान संगठनहरूका प्रतिनिधिहरूसँगको संयुक्त भेटमा प्रधानमन्त्रीले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर मात्रै समृद्धिको लक्ष्य हासिल हुने भएकाले सरकारले सोहीअनुसार तयारी गरिरहेको बताएका हुन् । प्रधानमन्त्रीले भने, “कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ। यसपटकको नीति, कार्यक्रम र बजेटमा उत्पादन र रोजगारी सिर्जनाका लागि नयाँ कार्यक्रम ल्याउने तयारी गरिरहेका छौँ। तपाईंहरूले दिनुभएको ध्यानाकर्षण पत्रले पनि सरकारलाई नयाँ ढंगले सोच्न सहयोग पुग्ने ठानेको छु। उत्पादनमा सम्पूर्ण तागत केन्द्रित नगरी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिँदैन।”
नेपालको कम्युनिस्ट आन्दोलन किसान आन्दोलनको जगमा उभिएको छ। प्रजातान्त्रिक आन्दोलनको जग पनि किसान आन्दोलन नै हो । प्रधानमन्त्रीले भने, “आजको परिस्थितिमा उत्पादन पद्धतिमा फेरबदल आएको छ। वैदेशिक रोजगारीले कृषिप्रतिको आकर्षक घटेको छ। तर, आज पनि अर्थतन्त्रको मुख्य मेरूदण्ड कृषि नै हो। यसलाई व्यवस्थित गर्नेतर्फ मेरो जोड छ।”

