नुवाकोट दरबारको पुनःनिर्माण छिट्टै सुरु हुन्छ : चिनियाँ राजदूत सोङ
काठमाडौं,बैशाख १९। नेपालका लागि चिनियाँ राजदूत छन् सोङ ले भूकम्पले क्षति पुर्याएको नुवाकोटको साततले दरबारसहित आसपासको धार्मिक तथा पुरातात्विक सम्पदाको पुनःनिर्माण छिट्टै सुरु हुने बताएका छन् ।
चीन सरकारले जिम्मेवारी लिएको दरबारसहितको संरचना पुनःनिर्माणको काम ढिलो भइरहेको समयमा सोमबार राजदूत सोङले स्थलगत अवलोकन गर्दै काम सुरुको तयारीमा रहेकाले समयावधिको लक्ष्य र जिम्मेवारीअनुसार सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।
‘भूकम्पले क्षति पुर्याएको नुवाकोटको साततले दरबारसहित यहाँको धार्मिक, सांस्कृतिक तथा पुरातात्विक आठवटा संरचनाको पुनःनिर्माणको जिम्मेवारी चीन सरकारको भएकाले काम सम्पन्न हुन्छ भन्नेमा ढुक्क हुनुहोस्,’ राजदूत सोङले भने, ‘केही प्राविधिक पक्ष र द्विपक्षीय समझदारी मिलाउनुपर्ने भएकाले मिति यकिन नभए पनि काम छिट्टै सुरु गर्न लागेका छौँ।’
भूकम्पले क्षति पुर्याएका संरचना पुनःनिर्माणमा सहयोग पुर्याउने कार्यक्रमअन्तर्गत नेपाल र चीन सरकारबीच नुवाकोटको सात तले दरबारसहित यहाँका आठवटा धार्मिक, पुरातात्विक र ऐतिहासिक महत्त्वका संरचनाको पुनःनिर्माण चीन सरकारले गर्ने सम्झौता भएको छ ।
सोहीअनुसार नेपालका तर्फबाट पुरातत्व विभाग र चीन सरकारका तर्फबाट ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’बीच विसं २०७६ जेठमा ४५ महिनाभित्रमा पुनःनिर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । उक्त अवधि पूरा भइसक्दासमेत दरबारसहितको संरचनाको पुनःनिर्माण तथा प्रबलीकरण अझै अन्योल अवस्थामा छ ।
चीनले पुनःनिर्माणको जिम्मेवारी लिएको आठवटा संरचनामा सात तले दरबारसहित तुलजा भवानीको मन्दिर, दरबार परिसरको गारदघर, रङ्गमहल, विष्णु र नारायण मन्दिर, भैरवीदेवी मन्दिर परिसरमा रहेको लामपाटी र सेतोपाटी दरबार रहेका छन् ।

