कांग्रेस नेता शंकर कँडेल मृत अवस्थामा फेला
काठमाडौं,बैशाख २० । नेपाली कांग्रेस चितवनका नेता शंकर कँडेल मृत फेला परेका छन् । चितवनमा पोल्ट्री व्यवसाय गर्दै आएका कँडेल मंगलबार साँझ भरतपुर महानगरपालिका–३ बेल्चोकस्थित आफ्नै कार्यालयमा मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार प्रहरीले कँडेल मृत फेला परेको सूचना मंगलबार साँझ ६ बजे प्राप्त गरेको थियो । सूचनालगत्तै परिचालन भएको प्रहरीले घटनास्थलबाट सुसाइड नोट फेला पारेको छ । सुसाइड नोटबारे अनुसन्धान भइरहेको डिएसपी पण्डितले जानकारी दिए।
मृत फेला परेका कँडेल कांग्रेस चितवनका पूर्वकोषाध्यक्ष हुन् । अहिले उनी महासमिति सदस्य थिए । कँडेल अनमोल फिड्सका सञ्चालक हुन् । पोल्ट्री व्यवसाय संकटग्रस्त बन्दै गएपछि उनले केही दिन अघि मात्रै अनमोल फिड्स बेचेको बताइएको छ ।

