१२ सय मेगावाट विद्युत निर्यात गर्ने प्राधिकरणको योजना, जेठ पहिलो साताबाट निर्यातको तयारी



काठमाडौं,बैशाख २० । नेपाल विद्युत प्राधिकरणले आगामी जेठको पहिलो साताबाट भारतमाा विद्युत निर्यात गर्ने तयारी अघि बढाएको छ । प्रि मनसुन तथा हिउँ पग्लीने सिजनका कारण अहिले खोलाहरुमा पानीको बहाव बढ्न थालेको छ ।

फलस्वरुप विद्युत उत्पादन पनि बढ्ने भएपछि प्राधिकरणले जेठबाट भारतमा विद्युत निर्यात गर्ने तयारी गरेको हो । अहिले प्राधिकरणले भारतबाटै विद्युत आयात गर्दै आएको छ ।

सम्भवत जेठको पहिलो साता थोरै मात्रामा भएपनि विद्युत निर्यात हुन सक्ने प्राधिकरणको अनुमान छ । गत वर्ष जेठ १९ गतेबाट भारतमा विद्युत निर्यात गर्न सुरु भएको थियो । गत बर्ष यसै अवधीमा विद्युतको जडित क्षमता २ हजार मेगावाट हारहारी थियो । तर, यसपाली विद्युतको जडित क्षमता २७ सय मेगावाट हारहारी पुगेको छ, त्योअनुसार यसपाली जेठको पहिलो साताबाटै विद्युत निर्यात हुने सम्भावना रहेको प्राधिकरणको दावी छ ।

तर, प्रि मनसुन भएपछि सिँचाईमा जमिनमुनीको पानी प्रयोग हुदैन । साथै, खोलामा पनि पानीको बहाव बढी सकेको हुन्छ । त्यसपछि सिँचाईमा विद्युतको माग हुदैन । तर, विद्युतको उत्पादन भने बढी सकेको हुन्छ । त्योअनुसार जेठबाट विद्युत निर्यात सुरु हुने आधार बनेको प्राधिकरणको भनाइ छ ।

अहिले नेपालमा विद्युतको उच्चतम माग १ हजार ७५० मेगावाट पुगेको छ । दैनिक औसत माग भने १ हजार ३०० मेगावाट र आधार माग १ हजार २७५ मेगावाट रहेको छ । अहिले सोहीअनुसार विद्युत उत्पादन नहुदाँ भारतबाटै विद्युत आयात भइरहेको छ । तर, अब छिट्टै स्वदेशी माग भन्दा बढी विद्युत उत्पादन हुने प्राधिकरणले जनाएको छ ।

यस्तै, प्राधिकरणले यो वर्ष १२ सय मेगावाट विद्युत निर्यात गर्ने योजना बनाएको छ । प्राधिकरणले गएको वर्ष ४०० मेगावाटसम्म विद्युत निर्यात गरेको थियो । तर, यो वर्ष १२ सय मेगावाटसम्म विद्युत निर्यात हुने बताइएको छ । बर्खासम्म नेपालको विद्युत जडित क्षमता २ हजार ८०० मेगावाट पुग्ने अनुमान प्राधिकणको छ । त्यसमा १०० मेगावाट बराबरको कुलेखानी जलाशययुक्त आयोजना सञ्चालन हुँदैन । ५३ मेगावाटको डिजेल पावर प्लान्ट पनि बन्द हुन्छ । यसका अलावा केही आयोजनाहरुलाई नियमित तथा आकस्मीक मर्मत गर्नुपर्ने हुन्छ । त्योअनुसार बर्खामा २५ सय मेगावाट हारहारी विद्युत उत्पादन हुन्छ । तर, नेपालको औसत माग भने १३ मेगावाट हारहारी मात्रै छ । पिक आवरमा मात्रै १ हजार ७५० मेगावाटको विद्युत माग हुने हो । आधार माग (न्यूनतम माग) १ हजार २७५ मेगावाट रहेको छ । त्योअनुसार यो बर्ष १ हजार २०० मेगावाट (पिक टाइममा बाहेक) सम्म विद्युत निर्यात गर्न सकिने प्राधिकरणको दावी छ ।

प्रतिक्रिया दिनुहोस्