आँबुखैरेनी–डुम्रे सडकखण्ड अन्तर्गत बन्दीपुरको याम्पामा घरमा ट्रक ठोक्कियो ३ को मृत्यु, ५ घाइते



डुम्रे,बैशाख २० । तनहुँ स्थित आँबुखैरेनी–डुम्रे सडकखण्ड अन्तर्गत पर्ने आँधिखोला याम्पामा राजमार्ग नजिकै रहेको २ वटा घरमा ट्रक ठोक्किदा ३ जनाको मृत्यु हुनुका साथै ५ जना घाईते भएका छन् । आज बुधबार बिहान करिब ९ बजे २० बजेको समयमा बन्दीपुर गाउँपालिका वडा नं ५ आँधीखोला याम्पास्थित पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नं. को ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किएको थियो । 

दुर्घटनामा ८ जना घाइते भएको र सबैलाई उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर पठाएकोमा ३ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । 

मृत्यु हुनेमा तनहुँ बन्दीपुर गाउँपालिका वडा नं. १ बस्ने वर्ष १२ को आयुस भुजेल,  वर्ष ५० को चेतबहादुर घर्ती र अन्दाजी ६९ वर्षका सनबहादुर भुजेल रहेको खाँणले बताए । ५ जना घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाईते हुनेहरुमा सोही स्थानका वर्ष ६ की आयुसा भुजेल, वर्ष १० की जस्मिन भुजेल, वर्ष १० को ईश्वर भुजेल, वर्ष ८ को समिर भुजेल र वर्ष ५ को सन्तोष भुजेल रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्