हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते १ जनाको मृत्यु, घाइते ४ जनामध्ये २ को अवस्था गम्भीर
काठमाडौं,बैशाख २३ । संखुवासभामा हेलिकोप्टर दुर्घटनामा परी गम्भीर घाइते एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, संखुवासभाका अनुसार दुर्घटनामा स्थानीय भविन गुरुङको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका गुरुङसहित अन्य तीनजनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । काठमाडौं ल्याइएपछि उनको मृत्यु भएको हो ।
हेलिकोप्टरमा सवार ५ जनामध्ये २ को अवस्था सामान्य छ । उनीहरूको खाँदीबारीस्थित स्थानीय अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, संखुवासभाले जनाएको छ।
अन्य घाइतेहरूमा क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, छिरिङ भोटे र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम गुरुङ छन् ।
माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका–४, सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको थियो । हेलिकोप्टरको पंखा पहाडको भित्तामा ठोक्किएर दुर्घटनामा भएको प्रारम्भिक जानकारी दिइएको छ ।

