छहरे–टोखा सुरुङमार्ग निर्माण सरकारको उच्च प्राथमिकतामा छ : अर्थ मन्त्री डा. महत
काठमाडौं,बैशाख २४ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफू अप्ठ्यारो समयमा अर्थमन्त्री भएको बताएका छन् । दुप्चेश्वर गाउँपालिका नाम्सापुराण नुवाकोटस्थित छेवाङ ग्लान ङाछर्यालिङ गुम्बामा गुरु पद्म्सम्भव मूर्तिको प्राण प्रतिस्थापन तथा समुद्घाटन कार्यक्रममा बोल्दै उनले सरकारको प्राथमिकतामा पूर्वाधार विकास रहेको बताएका छन् ।
‘हामीसँग राजस्वबाट प्राप्त हुने आम्दानी यो वर्ष थोरै छ । यो थोरै आम्दानीलाई देशैभरिको विकास निर्माणमा पुर्याउनुपर्ने हुन्छ । स्रोतको समस्या छ, यसका बाबजुद जे सम्भव हुन्छ, मबाट काम हुनेछ,’ उनले भने ।
मन्त्री डा. महतले ‘नेपाली कांग्रेसले विकास निर्माणलाई सधैं प्राथमिकता दिँदै आएको बताए । कांग्रेस जहिले सरकारमा हुन्छ, त्यसबेला जनताको पीरमर्का, आवश्यकता र विकास निर्माणलाई प्राथमिकतामा राखेको हुने उनको भनाइ थियो ।
दुप्चेश्वर गाउँपालिकामा केही समय अगाडि कुनै पूर्वाधार थिएन । पुल, सडकलगायतका विविध पूर्वाधारको विकास भएको छ, शिवपुरी क्षेत्रमा व्यापक विद्युतीकरण भएको छ,’ उनले भने, ‘अहिले पनि यहाँको विकास निर्माण, जनताको आवश्यकता, बाह्रै महिना चल्ने बाटो निर्माण हो, अप्ठ्यारो पर्दा, बालबालिकालाई स्कुल जाँदा कुनै समस्या नआओस् भन्ने हो, त्यसैले पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको छ ।’
‘अहिले यहाँ दुईओटा महत्त्वपूर्ण बाटो निर्माण भएको छ । प्रदेश सरकारको लगानीमा सिधैं राजधानी काठमाडौं-खोले गाउँ-महाकाली हुँदै दुप्चेश्वर जोडिँदै छ । ट्रयाक जोडिसकेको छ, अब पक्की बाटो बन्दै छ । केन्द्र सरकारको लगानीमा गंगटे त्रिशुलीदेखि नै गोल्फु भञ्ज्याङसम्म जाने बाटो बनेको छ’ अर्थमन्त्री डा. महतले भने, ‘समुन्द्र टारदेखि यता, त्यो कच्ची छ, बर्खामा धेरै अप्ठ्यारो छ । यो बाटोलाई पक्की गर्नुपर्ने आवश्यकता छ । ढिकुरेदेखि समुन्द्रटारसम्मको बाटो पनि स्तरोन्नति गर्न आवश्यक छ । यसका लागि आवश्यक बजेट विनियोजन हुनेछ । यो काम हामी गछौं, यो दुईओटा बाटो जोडिसकेपछि यहाँका जनताका कठिनाइका दिन अन्त्य हुनेछ ।’
‘बाटोसँगसँगै शिक्षा, स्वास्थ्य, खेलकुद र विकासका आवश्यकता छन् । यी आवश्यकताहरू बजेटले भ्याएसम्म काम गर्दै जाने छौं’ मन्त्री डा. महतले भने, ‘यहाँ दुप्चेश्वर प्रसिद्ध तीर्थस्थल छ । यो तीर्थस्थलमा देशैभरिबाट तीर्थालु आउँछन् । यसलाई पनि हामीले सुविधासम्पन्न बनाउनु छ । यसबाहेक घ्याङफेदीमा पुराना गाविसहरु गाउँपालिकामा एकीकृत छ ।’
‘म यही क्षेत्रको बासिन्दा हुँ, मैले प्राप्त जिम्मेवारी उच्च कर्तव्यनिष्ठताका साथ जनताको सेवामा म समर्पित हुनेछु’ उनले भने, ‘छहरे–टोखा सुरुङ मार्गदेखि समग्र नुवाकोटको कृषि, पर्यटन र उद्योग व्यवसायको विकासमा म समर्पित हुनेछु ।’ उनले रोजगारीको आवश्यकता, हरेक घर परिवारको आम्दानी श्रोत सुनिश्चित होस् भन्ने जनताको आकांक्षालाई पूरा गर्न सरकार गम्भीर रहेको बताए’ उनले भने ‘हाम्रो उद्देश्य जनताको सेवा मात्र हो, जनताको आवश्यकता र आकांक्षाका अगाडि व्यक्तिगत आकांक्षा र आवश्यकता गौण हुन् ।’
कार्यक्रममा डा. महतले भने, ‘हामी सबै धर्म, संस्कार, नैतिक मूल्य र मान्यताले बाँचेका छौं । हजारौं वर्षदेखि हामी एकअर्काप्रति सद्भाव बाँड्दै अगाडि बढेका छौं । त्यो हाम्रो महान धर्म संस्कृति र त्यसले सिकाएको पाठका आधारमा हामी सञ्चालित छौं । प्रचीन छेवाङ ग्लाङ ग्याङ छालिङ गुम्बामा बुद्धपछिको बुद्ध पद्मसम्भव गुरु रिम्पोचेको मूर्ति स्थापित भएको छ । यसले शान्ति, सद्भाव र आत्म ज्ञान विकास गर्न मद्दत पुग्नेछ ।’
‘पद्मसम्भवले १२ सय वर्ष अगाडि तपस्या गरेर तिब्बतमा बुद्ध धर्म फैलाएका थिए । नेपालको ठाउँ ठाउँमा उनको उपस्थिति रहेको छ । पद्म सम्भवले सिकाएको पाठलाई अनुशरण गर्दै हामी अगाडि बढ्नुपर्छ’ अर्थमन्त्री डा. महतले भने ।

