दशौं पटक मन्त्रिपरिषद् विस्तार, ४० जनाले पाए मन्त्री बन्ने अवसर
काठमाडाैं,बैशाख २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएको १३३ दिन भएको छ । पुस ११ बाट सुरु भएको मन्त्रिपरिषद् विस्तारको शृंखला दशौं पटकसम्म जारी छ । यसअवधिमा ४० जनाले मन्त्री बन्ने अवसर पाएका छन । यो तथ्यांकले सरकारको मुख्य काम मन्त्रिपरिषदको रोजगारी खोल्नु रहेको पुष्टि हुन्छ ।
जनताले महसुस गर्ने गरी परिवर्तन ल्याउँछु भन्दै सत्ताको साँचो हातमा लिएका दाहालले यो अवधिमा जसरी हुन्छ सरकार टिकाउने र त्यसका लागि मन्त्रीहरूको हेरफेर गरिरहने काममात्रै गरेका छन् । सिंहदरबारको सिंहासनमा बसेपछि मन्त्री बनाउने र सरकार टिकाउने उनको सर्वाधिक ठूलो उपलब्धि यही भएको छ ।
पुस ११ मा मन्त्रिपरिषद् गठन भएपछि प्रधानमन्त्री दाहालले माघ ३ मा वन तथा वातावरण र युवा तथा खेलकुद गरी दुई मन्त्रालय आफूसँग राखेर मन्त्रिपरिषद् विस्तार गरेका थिए । २३ सदस्यीय त्यो मन्त्रिपरिषद् फागुन १६ सम्म मात्रै टिक्यो । फागुन १४ मा राष्ट्रिय प्रजातन्त्र पार्टी र १६ मा एमाले मन्त्रीहरू सरकारबाट अलग भए । राष्ट्रिय स्वतन्त्र पार्टी भने यसअघि २३ अघि नै सरकारबाट बाहिरिएको थियो ।
रास्वपाबाट गृहमन्त्री बनेका रवि लामिछानेको नागरिकता प्रकरणमा संसद् पद गुमेपछि उनले माघ १४ मा राजीनामा दिएका थिए । एमाले, राप्रपा र रास्वपाका गरी १७ जना मन्त्री सरकारबाट बाहिरिएपछि करिब एक महिना माओवादी र जनमत पार्टीका नेता मात्रै मन्त्री थिए । प्रचण्ड नेतृत्व सरकारले दुईपटक विश्वासको मत लिइसकेको छ ।
संसदमा २१ सीट रहेको रास्वपाले सरकारमाथिको समर्थन फिर्ता लिएपछि फेरि विश्वासको मत लिनुपर्ने र नपर्नेमा दुईथरि धारणा सार्वजनिक हुन थालेका छन् । यद्यपि सत्तारुढ गठबन्धनले भने अब विश्वासको मत लिनु नपर्ने निचोड निकालेको छ । यदि विश्वासको मत लिनुपर्ने अवस्था आएमा यो सरकार इतिहासमै थोरै समयमा धेरै परीक्षाको कसीमा उत्रिएको सरकार प्रमाणित हुनेछ ।

