वैदेशिक रोजगारीबाट फर्केकाले दुईओटा मोबाइल ल्याउन पाउने
काठमाडौं,बैशाख २७ । वैदेशिक रोजगारीबाट फर्केका नेपालीले दुईओटा मोबाइल ल्याउन पाउने भएका छन् । यसअघि एउटा मात्र मोबाइल भन्सार प्रक्रिया पूरा गरेर ल्याउन पाउने सुविधा थियो ।
श्रम स्वीकृत लिई वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल फोन ल्याउन पाउने भएका हुन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेको यस्तो प्रस्ताव मङ्गलबार साँझ बसेको मन्त्रिपरिषद्ले पारित गरेको उनको सचिवालयले जनाएको छ ।
२०७७ जेठ १५ गते प्रकाशित सूचनामा भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा ३ अनुसार डेस्कटप कम्प्युटर वा ल्यापटप, ट्याप, घडी, क्यामरा, भिडियो क्यामरा र प्रयोग गरिरहेको सेलुलर मोबाइल फोन एक÷एक थान ल्याउन पाउने व्यवस्था थियो । तर, मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारीमा ६ महिना काम गरेर फर्किएकालाई थप एक थान मोबाइल फोन ल्याउन पाउने सुविधा सरकारले दिएको हो । रासस

