बुद्ध एयरमा शेयर विवाद : शिवेन्द्रले मागे दाजु वीरेन्द्रसँग ४० प्रतिशतको हिसाब
काठमाडौं,बैशाख २८ । निजीक्षेत्रको स्थापित वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरमा शेयरको विषयमा शेयरधनी शिवेन्द्रबहादुर बस्नेतले प्रश्न उठाएका छन् ।
बुद्ध एयरमा ४० प्रतिशत शेयर हिस्सा रहेका शिवेन्द्रले २०७५ सालदेखि हालसम्म कम्पनीले कुनै पनि हिसाब नदेखाएको, पारदर्शी रूपमा काम नगरेको र लाभांश पनि नदिएको जिकिर गरेका छन् ।
बुधवार काठमाडौंमा पत्रकार सम्मेलन नै गरेर बस्नेतले बुद्ध एयरसँग शेयर तथा लाभांशका विषयमा दुई–तीनपटक हिसाब माग्दा आलटाल गरेको भन्दै ‘घोटाला’को आशंका गरे ।
शिवेन्द्र बुद्ध एयरका प्रबन्ध निर्देशक (MD) वीरेन्द्रबहादुर बस्नेतका भाइ हुन् । वीरेन्द्र तथा उनको परिवारसँग अहिले बुद्ध एयरको ६० प्रतिशत शेयर छ । ‘झगडा गरेर बुद्ध एयरको छवि बिगार्ने काम मेरो होइन । ४० प्रतिशतको हिसाब खोजेको हुँ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘तर अहिलेसम्मको हिसाबमा घोटाला छ भन्ने मेरो
आशंका हो ।’
२५ वर्षअघि सुरेन्द्रबहादुर बस्नेतले बुद्ध एयर स्थापना गरेका थिए । अहिले शेयर हिस्साअनुसारको दायित्व माग गरेका शिवेन्द्र आफै पेशाले पाइलट हुन् । पेशा उड्डयन क्षेत्रकै भएकाले त्यतिबेला बुद्ध एयर स्थापना गर्न सहज भएको उनको दाबी छ ।
उक्त कम्पनीको ८० प्रतिशत शेयर कम्पनीका संस्थापक समेत रहेका सुरेन्द्रको भागमा थियो । २० प्रतिशत भने अहिलेका प्रबन्ध निर्देशक वीरेन्द्रको नाममा कायम भएको थियो । तर, बाबु सुरेन्द्रले आफ्नो नाममा भएको शेयर दाजु (वीरेन्द्र) भाइ (शिवेन्द्र)को नाममा ४०/४० प्रतिशत कायम गरिदिएका थिए ।
शिवेन्द्रको यस्तो दाबीप्रति बुद्ध एयरले कुनै सूचना सार्वजनिक गरेको छैन ।

