एनसेलको प्रमुख कार्यकारी अधिकृतमा जाब्बोर कायुमोभ



काठमाडौं,बैशाख २८ । एनसेल (Ncell) आजियाटा लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत (CEO) तथा प्रबन्ध सञ्चालक पदमा जाब्बोर कायुमोभ (Jabbor Kayumov) नियुक्त भएका छन् । एनसेल सञ्चालक समितिको मंगलबार बसेको बैठकले कायुमोभलाई सो पदमा नियुक्त गरेको हो । 

उनले बुधवारबाट कार्यभार सम्हालेका छन् । यससँगै एनसेलका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक एन्डी चोङ्ले आजियाटा ग्रुपको प्रधान कार्यालयमा १ जुन २०२३ देखि ‘आजियाटा ग्रुप चिफ कर्पोरेट अफिसर’का रूपमा कार्यभार सम्हाल्ने कम्पनीले जानकारी दिएको छ ।

कायुमोभ यसअघि टेलिया र भिम्पेलकम जस्ता शीर्ष दूरसञ्चार संस्थाअन्तर्गत प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन् । उनीसँग करीब २० वर्ष दूरसञ्चार उद्योगको उच्च व्यवस्थापनमा रही काम गरेको अनुभव रहेको बताइएको छ । 

एनसेल टिममा सामेल हुन पाएकोमा आफू हर्षित भएको उनले बताए । ‘व्यावसायिक कार्यसम्पादनमा वृद्धि गर्नु र आजियाटा ग्रुपको बृहत्तर भिजन एड्भान्सिङ एसियामा आधारित हुँदै नेपालको डिजिटल विकास र नेपालीको जीवनस्तर सुधारमा योगदान पुर्‍याउन ध्यान केन्द्रित गर्नेछु,’ जाब्बोरले भने, ‘एक करोड ६० लाखभन्दा बढी ग्राहक र नेपालीको सेवा गर्न पाउँदा म गौरवान्वित छु ।’

प्रतिक्रिया दिनुहोस्