सिङ्गापुर, मान्दिभ्स र दुबई पठाउने भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ
काठमाडौं,बैशाख २९ । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलब पाउने लोभ देखाएर विभिन्न मुलुकमा पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको आरोपमा उपत्यकाका विभिन्न स्थानबाट तीनजनालाई पक्राउ गरेको छ ।
दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा रसुवा घर भई काठमाडौंको वसुन्धारा बस्ने होमबहादुर तामाङ, माल्दिभ्स पठाइदिन्छु भनी ठगी गरेको आरोपमा धुलिखेलका अञ्जन सिग्देल र सिङ्गापुर पठाइदिन्छु भनी ठगी गरेको आरोपमा झापाका सिर्जन निरौलालाई पक्राउ गरिएको कार्यालयले जनाएको छ ।
सिङ्गापुर पठाइदिन्छु भन्ने निरौलाले ओमनाथ मैनालीसहित १२ जनालाई प्रतिव्यक्ति रू. १४ लाख लाग्ने भनी पैसा उठाएका थिए । उनले मासिक रू. चार लाखसम्म तलब हुने भनी लोभ देखाएर रकम सङ्कलन गरेको खुलेको छ ।
पीडितहरूबाट रू. ९५ लाख लिएर उनी फरार भएपछि पीडित प्रहरीमा आइपुगेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई काठमाडौंको सिनामङ्गलबाट पक्राउ गरी आज वैदेशिक रोजगार विभागमा बुझाएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।
यता सिग्देललाई जडीबुटीबाट पक्राउ गरिएको र आजै थप कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको कार्यालयका प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए । यस्तै तामाङलाई भने काठमाडौंको बसुन्धाराबाट पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको छ । रासस

