फोहोर व्यवस्थापन र निर्मूल गर्न सरकार दृढतापूर्वक अगाडि बढेको छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं,बैशाख २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सबैखाले फोहोर व्यवस्थापन र निर्मूल गर्न सरकार दृढतापूर्वक अगाडि बढेको बताएका छन् । शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित फोहोरमैला व्यवस्थापन सम्बन्धी बैठकमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।
उनले शहरको सौन्दर्य र स्वस्थ जीवनका लागि फोहोर व्यवस्थापन महत्वपूर्ण भएको भन्दै सरकार राजनीतिक क्षेत्रमा देखिएको फोहोरसमेत व्यवस्थापन र निर्मूल पारिने बताए । प्रधानमन्त्रीले भने, “हामी फोहोर व्यवस्थापनको छलफलमा छौँ। उपत्यकाको मात्र नभएर देशभरिको फोहोर व्यवस्थापन गर्ने कुरा हाम्रो प्राथमिकतामा छ। यो फोहोरको कुरा त छँदैछ, राजनीतिमा देखिएको फोहोर व्यवस्थापन र निर्मूल गर्नसमेत सरकार अगाडि बढेको छ।”
“परम्परागत तरिकाले फोहोरमैलाको दीर्घकालीन समाधान सम्भव छैन। आधुनिक प्रविधिको प्रयोगबाट मात्रै फोहोरलाई मोहरमा रूपान्तरण गर्न सक्छौँ” प्रधानमन्त्रीले, “फोहोरलाई हामीले समस्या र झन्झटका रूपमा होइन उर्जा, मल र आम्दानीका विभिन्न स्रोत र अवसरका रूपमा बुझ्नुपर्छ। त्यसका लागि प्रविधिमैत्री सोच र योजना आवश्यक छ।”
“फोहोर व्यवस्थापनलाई कसरी दीर्घकालीन रूपमा सञ्चालन गर्ने, यसलाई समस्या होइन, आयमुलक परियोजनाको रूपमा कसरी प्रविधिकरण गर्ने भन्नेमा हाम्रो जोड छ। यससँग सम्बन्धित समितिहरूको बैठक बसेर १० दिनभित्र हामी फेरि अर्को बैठक बस्छौँ, त्यसले व्यवस्थापनको दीर्घकालीन निर्णय गर्नेछ” प्रधानमन्त्रीले भने।

