महिलाले ट्विटरको नेतृत्व गर्ने : मस्क



काठमाडौं,बैशाख ३० । ट्विटर (Twitter)का प्रमुख कार्यकारी एलोन मस्क (Elon Musk)ले महिलाले ट्विटरको नेतृत्व गर्ने बताएका छन् । यसको नेतृत्वका लागि एनबीसी युनिभर्सलमा ग्लोबल विज्ञापन गरिएको र साझेदारीको अध्यक्ष लिन्डा याकारिनोलाई नियुक्त गर्न लागेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

न्युयोर्क टाइम्सका अनुसार नाम न छाप्ने शर्तमा एकजना अधिकारीले यसको प्रक्रिया निकै अगाडि बढेको बताएका छन् । उनका अनुसार याकारिनो मस्कसँग गत हप्तादेखि छलफल चलिरहेको छ । गत महिना, याकारिनोले मियामीमा एक विज्ञापन कार्यक्रममा मञ्चमा मस्कसँग अन्तर्वार्ता लिएको समाचार सार्वजनिक भएको छ ।

यसअघि बिहीवार पनि मस्कले ट्विटरका लागि प्रमुख कार्यकारी चयन गरेको तर परिचय भने नखुलाएको बताइएको छ । यस्तै वाल स्ट्रीट जर्नलले पनु याकारिनो मस्कसँग वार्तामा रहेको उल्लेख गरेको छ । 

गत वर्ष ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किनेका मस्कले प्रमुख कार्यकारीको नियुक्त फरक व्यक्तिको भए पनि कम्पनीमा बलियो पकड कायम राख्नेछन् । ट्विटरको मालिकको रूपमा उनले यसका साढे ७ हजार कर्मचारीहरूमध्ये ७५ प्रतिशतभन्दा बढी हटाउने र अनेक किसिमका सेवा सुविधाहरू र रणनीति परिवर्तन गरेर यसमा आफ्नो पकड बलियो बनाएका थिए । निवर्तमान सीईओले भर्खरै ट्विटरमा अर्को अपडेट थप्ने घोषणा गरेका छन्, जसले यसको प्रयोगकर्ताहरूलाई इन्क्रिप्टेड सन्देश सेवामा प्रारम्भिक पहुँच गर्न अनुमति दिनेछ ।

अपडेट हाल प्रमाणित प्रयोगकर्ताहरूको लागि मात्र उपलब्ध छ । यसअघि मे ११ मा मस्कले इन्क्रिप्टेड मेसेजिङको प्रारम्भिक संस्करण शुरु भइरहेको बारे अपडेट गर्दै ट्विट सार्वजनिक गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्