चितवनमा जेठ दोस्रो सातादेखि अनुदानको मल वितरण गरिंँदै, रोपाइँपछि भने अभाव हुने !
चितवन,बैशाख ३० । कृषि सामग्री कम्पनी लिमिटेड, चितवनले आगामी जेठ दोस्रो सातादेखि अनुदानको रासायनिक मल वितरण गर्ने तयारी गरेको छ । कृषि सामग्रीले किसानलाई धानको बीउ छर्ने सिजनमा मल वितरण गर्ने तयारी गरेको हो ।
कृषि सामग्री कम्पनी लिमिटेड, चितवनका प्रमुख राजन बगालेका अनुसार हाल चार सय टन डीएपी, तीन सय टन युरिया मल भण्डारणमा छ । उनले भने, ‘अहिले आइरहेको मल मौज्दात राखेका छौं, धानको बीउ छर्ने बेलामा मल सहज हुन्छ । रोपेपछि भने मुस्किल हुन सक्छ ।’ ठूलो परिमाणमा अनुदानको मल नआए यो वर्ष पनि धानको सिजनमा मल अभाव हुने उनको भनाइ छ । अहिले कम परिमाणमा वीरगञ्ज डिपोबाट अनुदानको डीएपी मल आइरहेको छ ।
साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेड, चितवनका प्रमुख बुद्धिविनोद दाहालले आगामी सातादेखि मल वितरण गरिने बताए । ‘मल कति आउंँछ भन्ने यकिन त भएको छैन । तर, अघिल्लो वर्षभन्दा सहज हुन्छ, अलि धेरै परिमाणमा आउंँछ,’ दाहालले भने ।
पछिल्लो समय किसान पर्याप्त मात्रामा अनुदानको मल नपाउँदा महँगो मूल्यमा बजारबाट खरीद गर्न बाध्य छन्, जसका कारण खेतीपातीमा किसानको लागत बढी परेको छ । धानको सिजनमा अन्य समयभन्दा बढी मलको माग बढी हुन्छ । गत वर्ष धानको सिजनमा किसानहरूले अनुदानको मल नपाएपछि निजी कम्पनीले उत्पादन गरेको मल बजारमा महँगोमा किन्न बाध्य थिए ।
चितवनमा वार्षिक १५ हजार टन बराबरको मल आवश्यक पर्छ । त्यसमध्ये कृषि सामाग्रीले करीब ३ हजार मेट्रिक टन बराबरको मल विक्री गर्छ भने साल्ट ट्रेडिङ्गले ९०० मेट्रिक टन बराबरको मल विक्री गर्ने गर्दछ । बांँकी परिणामको मल भने एग्रोभेटबाट क्षेत्रबाट विक्री वितरण गर्दै आएको छ ।
सरकारको स्वामित्वमा रहेका कृषि सामग्री कम्पनी चितवन शाखा र साल्ट ट्रेडिङ कर्पोरेसन चितवनले अनुदानको मल सहकारी तथा एग्रोभेटहरूलाई वितरण गर्छन् । चितवनमा रहेका २४० विक्री केन्द्रका लागि कृषि सामग्री कम्पनीले मल वितरण गरिरहेको छ ।

