रेसुङ्गा विमानस्थलबाट नियमित उडान शुरू, हरेक शुक्रवार उडान हुने



गुल्मी,बैशाख ३०। जिल्लाको रेसुङ्गा विमानस्थलबाट आजदेखि नियमित उडान शुरू भएको छ । नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले नियमित उडान थालेको हो । निगमले मङ्गलबार पनि उडान भर्ने तयारी गरेको छ । 

निगमको जहाजले दुई हप्ताअगाडि रेसुङ्गा विमानस्थलमा सफल परीक्षण उडान गरेको थियो । त्यसपछि गुल्मेली नागरिकले हवाई सेवा पाउने निश्चित भएको थियो । व्यावसायिक उडानको क्रममा पहिलो यात्रुका रूपमा आएका रेसुङ्गा नगरपालिका–१ का अखिलेश्वर पाण्डेले सुरक्षित, भरपर्दो र छिटो आफ्नै जिल्लाबाट हवाई सेवा पाएको बताए । 

त्यसैगरी गुल्मी दरबार गाउँपालिका–२ की पार्वती भुजेलले पनि काठमाडौंबाट केही समयमै गुल्मी आउन पाएको बताए । हवाई सेवाले गुल्मी र राजधानीलाई नजिक बनाएको अनूभूति आफूले गरेको उनले सुनाए । 

आज बिहान ६ः३० बजे काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भरेको जहाजले ७ः१५ बजे रेसुङ्गा विमानस्थलमा अवतरण गरेको थियो । जहाजका क्याप्टेन मनेष विष्टका अनुसार अब प्रत्येक शुक्रवार नियमित उडान हुनेछ । 

‘परीक्षणका क्रममा विमानस्थलको अवस्था हेरेर बिहानी समयमा उडान गरेका हौं,’ क्याप्टेन विष्टले भने, ‘हाललाई शुक्रवार मात्र उडान हुन्छ, पछि मङ्गलबार पनि उडान भर्ने हाम्रो तयारी छ ।’ 

रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले काठमाडौंमै गई लामो समय प्रयास गरी नेपाल एयरलाइन्सले नियमित उडान गरेको बताए । ‘गुल्मेलीलाई हवाई सेवा दिन लामो प्रयास गरेका थियौं,’ उनले भने, ‘नियमित उडानले गुल्मेलीको सपना साकार भएको छ ।’ उनका अनुसार निगम र नगरपालिकाबीच नियमित उडान गर्ने सम्झौता भएको थियो । निगमको जहाज पहिलो व्यावसायिक उडानमा १४ यात्रु बोकेर रेसुङ्गा विमानस्थलमा अवतरण भएको थियो । फर्किँदा पनि १४ यात्रु लिएर जहाज फर्किएको हो । पछिल्ला उडानमा जहाजको क्षमताअनुसार १८ यात्रु बोक्ने निगमको तयारी छ । प्रतियात्रु रू. ६ हजार तीन सय भाडादर कायम गरिएको छ । 

रेसुङ्गा विमानस्थलमा यसअघि २०७५ जेठ २५ गते र गत पुस २४ गते तारा एयरको जहाजले परीक्षण उडान गरेको थियो । पछि भाडादर महँगो भएपछि तारा एयरको जहाजको उडान स्थगित भएको हो । विमानस्थल १५६ रोपनी क्षेत्रफलमा फैलिएको छ । विमानस्थल कुल रू. ३५ करोडको लागतमा निर्माण सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्