हावाहुरीले घरमा क्षति, चट्याङ लागेर तीन घाइते



दार्चुला,बैशाख ३१ । दार्चुलामा आइतबार दिउँसो ३ बजेतिर आएको हावाहुरीले विद्यालय र घरको छाना उडाएर क्षति गरेको छ । जिल्लाको नौगाड गाउँपालिका –५ मा अवस्थित मालिकार्जुन आबि भिडको दुई कोठे शौचालयको छानो उडाएको विद्यालयका प्रद्यानाध्यापक केशबसिंह धामीले जानकारी दिए । 

सोही वडाको रुडखेत टोलका मानसिंह धामीको घर र बीरबहादुर धामीको घर (खर्क) पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । यस्तै, नरसिंह धामीको आधा घरमा क्षति पुगेको स्थानीय श्यामसिंह धामीले बताए ।

चट्याङ लागेर तीन घाइते

दार्चुलाको व्याँस गाउँपालिका –३ हुम्दुम्तीमा चट्याङ लागेर तीन जना घाइते भएका छन् । दुहुँबाट यार्सागुम्बा संकलनका लागि व्याँस गएका तीन जना चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

शनिबार राति ८ बजे परेको चट्याङ लागेर दुहुँ गाउँपालिका –१ बचपाली बस्ने ३७ वर्षीय आनसिंह महरा, उनकी श्रीमती ३० वर्षीया मनमती महरा र दुहुँ गाउँपालिकाकै हिकिला बस्ने महेश बडाल चट्याङ लागेर घाइते भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्