पासाङ ल्हामु यातायातको डिलक्समा एसी चलाउन समितिको निर्देशन
नुवाकोट, जेठ १ । पासाङ ल्हामु यातायातको डिलक्समा एसी चलाउन मातहतका समितिले निर्देशन दिएको छ । सोमबार एक सूचना जारी गर्दै नमस्ते पासाङ ल्हामु यातायात प्रालिले सो निर्देशन दिएको हो ।
सूचनामा जिल्ला ट्राफिक कार्यालयले सर्वसाधारणको उजुरीको आधारमा नियममा नचल्ने गाडीलाई कडा चेक जाँच सहित जरिवाना तिराउने तयारी गरेकाले समितिको निर्देशनलाई पालना गर्न अनुरोध गरेको छ ।
सो समितिका अध्यक्ष रामहरि श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा एसीका साथै यात्रुलाई खानेपानीको प्रवन्ध गर्न समेत भनिएको छ ।
यता छहरे-टोखा हुँदै काठमाडौ-नुवाकोट आवातजावत गर्ने डिलक्स भने नाम मात्रको डिलक्स भएको स्थानीयले बताउदै आएका छन् । छहरे बजारका बासुबिक्रम थपलियाले डिलक्सको भाडादर लिने तर अस्वाभाविक रुपमा यात्रु कोचेर सर्वसाधारणलाई सास्ती दिने गरेको बताए । थपलियाले ढिलाचाडो नियमनमा नआए गाडीमा डिलक्स लेखेर सडक ओहोरदोहोर गर्न नदिने बताए ।
थान्सिङका अर्का युवा प्रकाश डङोलले डिलक्सको नाममा अनियमित भाडादरमा समायोजन गर्न समितिलाई सुझाएका छन् । डङोलले आवश्यक परेको खण्डमा भाडादर माग्दा समेत सहचालकले भाडा लिस्ट देखाउन नसकेको बताए ।
तीन बजेपछि गाडी नपाउने समस्या
छहरे-टोखा तथा पासाङ ल्हामु यातायातको गैरजिम्मेवारी थितिले सर्वसाधारणले सास्ती ब्यहोर्दै आइरहेका छन् । छहरे-टोखा चल्ने भाडाका सवारीसाधन प्रतियोगिता झै बिहानैदेखि मध्यदिन बीचमै काठमाडौ प्रवेश गरेपछि गाडी नपाउने समस्याले यस क्षेत्रका सर्वसाधारण आजित बनेका छन् ।
यस क्षेत्रका यात्रुले यस सम्बन्धमा पटकपटक गुनासो गरेपनि आवश्यक सुनुवाइ नभएको उनीहरु बताउँछन् । सुनखानीका लालबहादुर तामाङले साँझ अबेरसम्म भाडाका बस संचालन हुनुपर्ने बताए । तामाङले कतिपय कुरा फाइदाको दृस्ठिकोण मात्र नभई ब्यवहारिक पक्षले समेत ब्यवस्थापन गर्न समितिसंग आग्रह गरे ।
सोमबार जारी समितिको सूचना


