भारतको भ्रमण ऐतिहासिक हुन्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं,जेठ ६। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको एकता र परिवर्तनको रक्षाको संकल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताएका छन्।
कान्तिपुर मिडियाद्वारा राजधानीमा आज आयोजित हाफ म्याराथनको एक कार्यक्रमबीच शुभारम्भ गर्दै प्रधानमन्त्री उक्त कुरा बताएका हुन्।
‘यो परिवर्तनमार्फत नै जनतालाई सेवा दिन सकिन्छ, सुशासन दिन सकिन्छ र विकास दिन सकिन्छ भन्ने संकल्प सहित यो पटक म प्रधानमन्त्रीको जिम्मेवारीमा छु। हिजोका दिनमा भएका राष्ट्रिय एकता, सहमति र सहकार्यलाई जीवन्त तुल्याउन सकिन्छ भन्ने उद्देश्यले नै हामी दलहरु बीच छलफलमा छौं’ उनले भने।
उनका अनुसार शीर्ष नेताहरु बीच हुने गरेका छलफल पनि तिनै विषयका साथै संसदका विभिन्न समितिहरु, संक्रमणकालीन न्याय र गणतन्त्र बिरोधि प्रवृत्तिलाई निरुत्साहित गर्न मै केन्द्रित हुने गरेको छ।
प्रधानमन्त्रीले भारतसँग खुला सीमा, आर्थिक, राजनीतिक, सामाजिक, जनता जनताबीचको सम्बन्धको दृष्टिकोणले सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै आगामि भ्रमण दुबै देशका लागि ऐतिहासिक बन्नेसमेत बताएका छन्।
प्रधानमन्त्रीले कार्यक्रममा सरकार खेलकुदको विकासलाई उच्च प्राथमिकतामा राखेर देशको प्रतिष्ठा र समाजमा अनुशासन कायम गर्न लागेकोसमेत बताएका छन्। उनले भने, ‘अहिले सरकार सुशासन, विकास र समृद्धिको नयाँ संकल्प सहित अगाडि बढेको छ। त्यसमा खेलकूलाई प्रोत्साहित गर्ने कुरा सरकारको उच्च प्राथमिकतामा रहेको म स्पष्ट गर्न चाहन्छु।’

