सुदूरपश्चिम प्रदेश सरकार विस्तार, कृषि मन्त्रालय खाली



काठमाडौ,जेठ ६ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार मन्त्रिपरिषद विस्तार भएको बताएका छन् । मुख्यमन्त्री नियुक्त भएको सय दिनपछि उनले तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरिएको हो । अझै पनि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय खाली छ। नवनियुक्त मन्त्रीले प्रदेश प्रमुख देवराज जोशीसमक्ष शनिबार नै पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् । 

नवनियुक्त मन्त्रीमा नेपाली कांग्रेसका बझाङबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय,  नेकपा (माओवादी केन्द्र) का अछामबाट निर्वाचित झपटबहादुर साउद सामाजिक विकासमन्त्री र कैलालीबाट निर्वाचित माओवादीकै रमेशसिंह धामी उद्योग, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिइएको छ। 

माओवादीबाटै डडेलधुराकी समानुपातिक प्रदेश सभा सदस्य गीतादेवी माललाई उद्योग, वन तथा वातावरण राज्यमन्त्री नियुक्त गरिएको छ। मुख्यमन्त्री शाहसमक्ष राज्यमन्त्री माललेसमेत शनिबार नै पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

शपथ ग्रहण कार्यक्रममा सभामुख भीमबहादुर भण्डारी, भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, आर्थिक मामिलामन्त्री नरेशकुमार शाही र प्रदेश सभा सदस्य सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्