संसदमा केपी ओली गर्जन : याद रहोस, बाघले घाँस खाँदैन
काठमाडौं,जेठ ७ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पछिल्ला दिनमा प्रमुख तीन दलका नेताहरुबीचको भेटवार्तालाई लिएर शंकाको दृष्टिकोणले हेरिएकोमा आपत्ति जनाएका छन् ।
ओलीले संसदलाई चलाउनको लागि आवश्यक पहल लिनको लागि गरिएको भेटवार्ताबारे सन्देह गरिनु दुःखद् भएको टिप्पणी गरे । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा उनले यस्तो बताएका हुन् । उनले भने,‘हामी तीनजना मध्ये पनि दुई जना चाहिँ दूधले नुहाएका, दूधकुण्डमै नुहाएका, अनि म चाहिँ अपराधी जोगाउन म्याउँ म्याउँ गरिरहेको रे । याद राख्नुस्, बाघ बुढो हुँदैमा बाघले घाँस खाँदैन ।’
ओलीले यसअघि नै आफूले संसद्मा नक्कली भुटानी शरणार्थी प्रकरणबारे बोल्ने बताएका थिए । उनले जेठ ४ गते नै बोल्ने भनिएको थियो । तर, तीन दिनपछि उनले आज गरेको सम्बोधनमा त्यसबारेमा पनि बोलेका छन् । ओलीले भुटानी शरणार्थी प्रकरणमा आफ्नो सरकारको पालामा कुनै गडबडी नभएको दाबी गरे । उनले अपराधी नउम्किने गरी निष्पक्ष छानबिन गर्न सरकारसमक्ष माग गरेका छन् ।

