खुद्रा पैसा नभएको बाहनामा सार्वजनिक यातायातमा यात्रु ठगिने क्रम रोकिएन

काठमाडौं,जेठ १३ । काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा घटे पनि खुद्रा पैसा नभएको बाहनामा सार्वजनिक यातायातमा यात्रु ठगिने क्रम रोकिएन छैन् ।
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो । भाडादर घटेपनि छोटो दूरीका सार्वजनिक यातायातले यात्रुहरुसँग बढी रकम लिने गरेका छन् । अझ खुद्रा नभएको बाहाना यात्रु ठगिने चलन नौलो होइन ।
एक साताअघि डिजेलमा प्रतिलिटर १० रुपैयाँका घट्यो । हाल डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ६५ रुपियाँबाट १ सय ५५ रुपैयाँमा झरेको छ । डिजेलको भाउ घटेसँगै काठमाडौं उपत्यकाभित्र पाँच दशमलव नौ प्रतिशत, उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा चार दशमलव १८ प्रतिशत र मालवाहक सवारीसाधनमा पाँच दशमलव ६९ प्रतिशतले भाडा घटेको छ ।
भाडादर समायोजन गरेपनि दुई/चार रुपैयाँ सधैँ बढी तिर्नु पर्ने भन्दै नागरिकस्तरबाट गुनासो आउने गरेको छ । १७ रुपैयाँ भाडा रहेको अवस्थामा यात्रुसँग सहचालकले २० रुपैयाँ लिने गरेका थिए । अहिले भाडादर घटेपनि यात्रुहरुले उपत्यकामा सवारी चढेसँगै २० रुपैयाँ तिर्नुपरेको छ ।
यस्तै, २८ रुपैयाँ कायम रहेको ठाउँमा बाध्य भएर ३० रुपैयाँ तिर्नुपरेको यात्रुहरु गुनासो गर्छन् । सहचालकले चानचुन रकम नभएको भन्दै बढी रकम लिँदा यात्रुहरू ठगिने गरेको पाइन्छ ।