काठमाडौं,जेठ १६ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवम् महिला, बालबालिका तथा समाज कल्याण पूर्व राज्यमन्त्री मीना पाण्डेको निधन भएको छ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मंगलबार अपराह्न काठमाडौं गौशालास्थित निजी निवासमा उनको निधन भएको हो। २००८ सालमा जन्मिएकि पाण्डेले २०३५ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक जीवनयात्रा प्रारम्भ गरेकी थिइन् । तीन पटकसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य बन्नुभएको थियो। अन्तिम श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीर अहिले पशुपति आर्यघाटमा राखिएको छ।
पाण्डे नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घको दुई पटक सभापति हुनुभएको थियो। नेपालमा प्रजातन्त्रको स्थापना र पुनर्स्थापनाका क्रममा उनले पटक–पटक जेल जीवनसमेत व्याप्ति गरेकी थिइन । उनको निधनबाट नेपाली कांग्रेसले एक अनुभवी महिला नेतृत्वलाई गुमाएको छ।
पाण्डेको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । सभापति देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनमा उनले पुर्याएको योगदान स्मरणीय रहने भन्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । उनको परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

