प्रधानमन्त्री भारत भ्रमण सकेर स्वदेश फिर्ता, भ्रमण फलदायी भएको दाबी



काठमाडौं,जेठ २० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । उनले आफ्नो चारदिने भ्रमण निकै फलदायी भएको पनि दाबी गरे। इपिजीको प्रतिवेदन र अखण्ड भारतको नक्साबारे नबोलेका प्रचण्डले सात वटा सम्झौता भएकोप्रति निकै गौरव महसुश गरेका छन् । उनले आफ्नो चार दिने भारत भ्रमण पूर्णरूपमा सफल भएको र यसले नेपालको आर्थिक समृद्धि र विकास प्रक्रियामा नयाँ इँटा थपेको बताए ।

ऊर्जा व्यापारका सम्बन्धमा भएका सहमति आफैँमा एक प्रकारको ब्रेक थ्रु रहेको प्रधानमन्त्री प्रचण्डको दाबी छ । नेपालको ऊर्जा क्षेत्रमा यस प्रकारको सहमतिले ठूलो लगानी भित्र्याउनसमेत बल पुग्ने उनको भनाइ छ । दश वर्षमा १० हजार मेगावाट भारतले आयात गर्ने कुरा आफैँमा ऐतिहासिक र महत्वपूर्ण रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

भ्रमण दलमा रहेका कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व राज्मन्त्री गोविन्दबहादुर शाहले प्रधानमन्त्रीको भ्रमण निकै फलदायी भएको दाबी गरे। उनले विद्युतको क्षेत्रमा भएको सम्झौता निकै महत्वपूर्ण रहेको दाबी गरे। कोलकत्ताका महावाणिज्यदूत ईश्वरराज पोखरेलले पारवहन सम्झौताले नेपालमा आयात निर्यातलाई थप सहज बनाएको दाबी गरे। पारवहनमा थप नाकाहरु समेत समेटिएकोले सामान ढुवानीमा सहज हुनेछ।

प्रधानमन्त्री प्रचण्डको भ्रमणका क्रममा देखिएका केही दृष्यले सबैलाई चकित तुल्याएको छ। नेपालको राजनीतिक वृत्तमा समेत उनले गरेको महाकालेश्वरको दर्शन र गेरु वस्त्रको चर्चा भएको छ। पूर्वप्रधानमन्त्री एवं उनकै सहयात्री डा. बाबुराम भट्टराईले समेत प्रचण्डले बाटो बिराएको संकेत गरेका छन् । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले प्रचण्ड धर्मनिरपेक्ष राष्ट्रको प्रधानमन्त्री भएकोले हिन्दुको प्रचार गर्नैपर्ने बाध्यता नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्