हिमपहिरोमा हराएको ३२ दिनपछि शव फेला



काठमाडौं,जेठ २४ । हिमपहिरोमा बेपत्ता भएका तीन जना यार्सा सङ्कलक ३२ दिनपछि मृत अवस्थामा फेला परेका छन् । मुगुको पाटनमा यार्सागुम्बाटिप्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फि गाउँका १५ जनामध्ये ४० वर्षिय तारासिंह सार्की, ३५ वर्षिय पुन्न सार्की र ३५ वर्षिय वीर बोहोराको शव सोमवार फेला परेको मुगुको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) महेश बस्नेतले जानकारी दिए ।

मुगुको मुगुम कार्मारोङ गाउँपालिका–२ च्यार्खु लेखमा गत वैशाख २२ गते यार्सा सङ्कलन गर्न गएका उनीहरु हिमपहिरोमा परी बेपत्ता भएका थिए । बेपत्तामा परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय र पातारासी गाउँपालिकाको समन्वयमा कणाली प्रदेश सरकारले हेलिकप्टरसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको टोलीले दुई हप्तासम्म खोजी गर्दा शव फेला परेको डीएसपी बस्नेतले जानकारी दिए ।

लगातारको हिमपातका कारण पाटनलगायत हिमालमा बाक्लो हिउँ जमेकाले खोजी कार्यमा समस्या भएको उनले बताए । ‘बेपत्ता भएकाको तीनै जनाको शव घटनास्थल भन्दा दुई किलोमिटर तल ल्याएका थियौँ,’ उनले भने । शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुबाट डाक्टरको टोली शव राखिएको स्थानमा पुगेर परीक्षण गरेपछि मृतकका आफन्तलाई शव बुझाइ दाहसंस्कार गरिएको डीएसपी बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्